
हनोइ, — नेपाल र भियतनामबीच द्विपक्षीय आर्थिक सहकार्यलाई सुदृढ बनाउन हनोइमा आज नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र भियतनामी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (VCCI) बीच छलफल भएको छ।
थाइल्यान्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले बैठकमा भियतनामी लगानीकर्तालाई नेपालमा निर्यातमुखी उद्योग, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उल्लेख गर्दै उहाँले वर्तमान विश्व आर्थिक चुनौतीका बीच दुवै देशले सहकार्यबाट लाभ लिन सक्ने बताउनुभयो।
“नेपालमा निर्यातजन्य उद्योगका लागि विशाल सम्भावना छ, भियतनामी लगानीकर्तालाई त्यसतर्फ अघि बढ्न अनुरोध गर्दछु,” राजदूत ओलीले भन्नुभयो। उहाँले सूचना–प्रविधि, औषधि उद्योग, जडीबुटी तथा पर्यटन क्षेत्रमा पनि ठूलो अवसर रहेको उल्लेख गर्नुभयो।
FNCCI का अध्यक्ष चन्द्रप्रसाद ढकालले दुवै देशबीच आर्थिक साझेदारीलाई थप बलियो बनाउन आवश्यक रहेको बताउँदै भियतनामी बजारमा नेपाली हस्तकला, चिया, कफी र जडीबुटीका उत्पादनको उच्च सम्भावना भएको जानकारी दिनुभयो। ढकालका अनुसार नेपालमा विदेशी लगानीमैत्री कानुनी संरचना विकसित हुँदै गइरहेको छ र लाइसेन्स, भन्सार तथा कर व्यवस्थापन सुधारिएको छ।
उहाँले नेपालमा केबलकार, रिसोर्ट, वेलनेस सेन्टर र साहसिक पर्यटन क्षेत्रमा क्षेत्रीय लगानी बढ्दै गएको जानकारी दिंदै भियतनामी लगानीकर्तालाई सहभागी हुन आह्वान गर्नुभयो। ढकालले भियतनामी प्रतिनिधिमण्डललाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन तथा नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्न निम्तो पनि दिए।
भियतनामी चेम्बरका उप–कार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले भियतनाम पनि नेपालसँग आर्थिक साझेदारी विस्तार गर्न इच्छुक रहेको बताउनुभयो। “हाल द्विपक्षीय व्यापार र लगानीको मात्रा सीमित छ, तर सम्भावना निकै ठूलो छ,” उहाँले भने। भिनका अनुसार निकट भविष्यमा दुवै देशबीच सहकार्यलाई मजबुत बनाउन पहल जारी रहनेछ।
















Comments