सोलुखुम्बु — लुक्लास्थित पासाङ ल्हामु निकोल निक्की अस्पतालले आफ्नो २०औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। सो अवसरमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको सगरमाथा आरोहणको ३०औं वार्षिकोत्सव पनि एकैसाथ मनाइएको थियो।
अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार गत दुई दशकमा अस्पतालले करिब तीन लाख बिरामीको उपचार र १,५०० शिशुको सुरक्षित प्रसूति सेवा प्रदान गरेको छ।


“हामी न्यूनआय भएका हिमाली परिवारका लागि स्वास्थ्य र शिक्षा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौं,” उनले भने, “हाम्रो अस्पताल आधुनिक उपकरणसहित सेवा विस्तार गर्दैछ र हामी नियमित रूपमा आँखाका र अस्थिरोगका विशेष स्वास्थ्य शिविर पनि सञ्चालन गर्छौं।”


नेपालका लागि स्विस राजदूत डानियला भेरोनिक मोलीले करिब २,९०० मिटर उचाइमा अवस्थित यो अस्पताललाई नेपाल–स्विजरल्याण्ड मित्रताको प्रतीकका रूपमा वर्णन गरिन्। उनले विश्वकै दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याएको अस्पतालको दुई दशक लामो समर्पणको प्रशंसा गरिन्।


खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले अस्पतालले स्थानीय बासिन्दा र पर्यटक दुबैका लागि जीवनरक्षक सेवा प्रदान गर्दै आएको बताए। “यो अस्पतालले प्रसूति, गर्भाशयसम्बन्धी उपचार तथा विपन्न परिवारलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ,” उनले भने।


अस्पतालकी संस्थापक निकोल निक्कीले स्विस सहयोगी रोब र राल्फप्रति आभार व्यक्त गर्दै ‘बोर्न चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’का बारेमा जानकारी दिइन्। उक्त योजनाअनुसार अस्पतालमा जन्मेका प्रत्येक बालबालिकालाई कक्षा १० सम्म हरेक वर्ष २२० स्विस फ्राङ्क बराबरको छात्रवृत्ति प्रदान गरिन्छ। “यो वर्ष मात्रै २६१ बालबालिकाले छात्रवृत्ति प्राप्त गरेका छन्,” उनले बताइन्।


कार्यक्रममा उपाध्यक्ष तासी ल्हामु शेर्पा, पासाङ ल्हामु फाउन्डेशनकी अध्यक्ष तथा पूर्व राजदूत दावा फुटी शेर्पा, पासाङ ल्हामु शेर्पाका दाजु क्याप्टेन आङ गेलु शेर्पा, र निकोल निक्की फाउन्डेशनका पासाङ ग्याल्जेन शेर्पाको उपस्थिति थियो।
स्थानीय महिलाका सांस्कृतिक नृत्य, हिमाली परिकार र करिब ५०० अतिथिको सहभागिताले कार्यक्रमलाई अझै भव्य बनाएको थियो।