काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जी विद्रोहलाई ऐतिहासिक मोडमा रहेको बताउँदै, अहंकारी सत्ता ढलेको र अब जनताको संविधान लेखिनु आवश्यक भएको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित खबरदारी सभामा बोल्दै विप्लवले भने, “हामीले जेन–जी युवाहरूलाई धन्यवाद दिनुपर्छ। हाम्रो पार्टीले पनि लडेको हो तर पार लगाउन सकेको थिएन, अहिलेको जेन–जी विद्रोहले त्यो काम पुरा गरेको छ। अलि ख्याल नगरे यो विद्रोह पनि तुहिने दिशातिर जान सक्छ।”

उनका अनुसार शासक वर्गको अहंकार, भ्रष्टाचार र जनताको आवाज नसुन्ने प्रवृत्तिका कारण जेन–जी विद्रोह विस्फोट भएको हो। उनले भने, “भ्रष्टाचारीहरूले अटेर गर्दै गएपछि, जनतालाई अपहेलना गरेपछि, राज्य, प्रशासन, डण्डा र जेलको भरमा मनपरी गर्न थालेपछि जेन–जी विस्फोट भएको हो।”

जेन–जी कुनै पार्टी नभए पनि पार्टीहरूले गर्न नसकेको काम गरेको भन्दै विप्लवले समर्थन जनाए। “भ्रष्टाचारको अन्त्य, संसद् विघटन, संविधानको पुनर्लेखन र प्रत्यक्ष कार्यकारीको निर्वाचनको माग राखेर जेन–जीले नयाँ मोड दिएको छ,” उनले भने।

तर आन्दोलनपछिको अन्तरिम सरकार हेर्दा विद्रोह तुहिने खतरा देखिएको उनले बताए। “यदि नयाँ पुस्ताले तुरुन्त निर्णायक कदम चाल्न सकेनन् भने जेन–जी विद्रोह नेपालका पुराना आन्दोलनहरू भन्दा पनि खराब अवस्थामा पुग्नेछ।”

विप्लवले माओवादी जनयुद्धपछिको परिवर्तन दलालहरूले कब्जा गर्न खोजेको आरोप लगाउँदै भने, “अब विदेशी दलालहरूले जेन–जी विद्रोहपछिको नेपाल कब्जा गर्न खोज्दैछन्। राज्य संयन्त्रको भरमा केही हुँदैन भन्ने भ्रम फिजाइएको छ।”

अहंकारी सरकार ढलेको भन्दै उनले जेन–जी युवाहरूलाई धन्यवाद दिएका थिए। “संसद् दलालहरूको स्वार्थमा प्रयोग भयो, राष्ट्रघात गरियो। अहंकारी सत्ता र भ्रष्ट प्रणाली ढल्यो, त्यसका लागि धन्यवाद दिन चाहन्छु,” उनले भने।

संविधानमा गणतन्त्र लेखिए पनि जनताको संविधान नलेखिएको उल्लेख गर्दै विप्लवले दलहरूको सत्ता–स्वार्थका कारण जनताको न्यायको मागलाई बेवास्ता गरिएको बताए। उनले दुई वर्ष प्रतिबन्ध झेलेर पनि भ्रष्टाचार र बेथितिविरुद्धको आवाज नरोकेको दाबी गरे।