मुस्ताङ,— मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम–नाइन रुट स्टक’ स्याउका बिरुवा उत्पादन सुरु गरेको छ।

केन्द्रमा स्थापना गरिएको तन्तु प्रजनन प्रयोगशाला प्रविधिबाट प्रशारण गरिएका बीउ प्रयोग गरी बिरुवा उत्पादन गरिएको हो। नेपालमा यसअघि यस्तो प्रविधिबाट हाईब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादन भएको थिएन।

केन्द्रका जैविक प्रविधि प्राविधिक अशोक लिम्बूका अनुसार चालु आर्थिक वर्षमा करिब ६ हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ। पर्याप्त पूर्वाधार, विशेषगरी हाईटेक सिसाघर उपलब्ध भएमा वार्षिक ५० हजारभन्दा बढी बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो।

उच्चघनत्व प्रविधिबाट थोरै क्षेत्रफलमै छिटो र बढी उत्पादन हुने भएकाले मुस्ताङका किसानहरू हाईब्रिड स्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन्।