
काठमाडौं। सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुई महत्वपूर्ण अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशहरू जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारको सिफारिस अनुसार अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्था रहेकाले ती प्रस्तावहरू अहिले राष्ट्रपतिको अध्ययनमा रहेको जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले अध्यादेशहरू अध्ययनकै क्रममा रहेको जानकारी दिएका छन्।
यद्यपि, सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा अध्यादेशसम्बन्धी विषय उल्लेख नगरेको देखिएको छ। उनले सोमबारका तीन वटा निर्णय मात्र सार्वजनिक गरेका थिए।
सरकारले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरी पछि स्थगन गराएपछि अध्यादेश ल्याएको हो। यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नियमित संसद् अधिवेशनलाई ‘छलेर’ अध्यादेश ल्याइएको भन्दै कांग्रेसले सरकारको कदमको आलोचना गरेको छ।
सरकारको यस कदमले राजनीतिक वृत्तमा बहस थप चर्किएको छ।















Comments