​काठमाडौँ। केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’ (सिजेपी) ले दिल्लीको जन्तर-मन्तरमा सुरु गरेको आन्दोलन बुधबार थप उग्र बनेको छ। बिहानैदेखि हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले माग पूरा नभए लाखौँ मानिस सडकमा उतार्ने चेतावनी दिएका छन्।


​बढ्दो तनाव र सम्भावित अशान्तिलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले संसद भवन र रफी मार्ग लगायतका संवेदनशील क्षेत्रहरूमा कडा ब्यारिकेडिङ गरेको छ। साथै, गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पार्न केन्द्रीय आरक्षित प्रहरी बल (सिआरपिएफ) का थप २० कम्पनी (करिब २,००० जवान) दिल्लीमा तैनाथ गर्ने आदेश दिएको छ। भारतीय समाचार संस्था पिटिआईका अनुसार आपतकालीन आदेशपछि पश्चिम बंगालबाट जवानहरूलाई हवाईजहाजमार्फत दिल्ली ल्याउने काम भइरहेको छ।


​यसैबीच, प्रधानमन्त्री निवास बाहिर धर्ना दिने क्रममा पक्राउ परेका लोकसभाका विपक्षी नेता राहुल गान्धीले हिरासतमा रहेको छत्रसाल स्टेडियमबाट एक भिडिओ सन्देश जारी गर्दै सरकारसमक्ष ५ बुँदे माग राखेका छन्।

गृहमन्त्री र शिक्षामन्त्रीको राजीनामा: गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले तत्काल राजीनामा दिनुपर्ने

कारबाहीको माग: शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूमाथि कुटपिट र अपमान गर्नेहरूमाथि कारबाही हुनुपर्ने।
मुद्दा खारेजी: आन्दोलनका क्रममा विद्यार्थीहरूमाथि लगाइएका सबै मुद्दाहरू खारेज गरिनुपर्ने।
संसदमा बहस: प्रश्नपत्र लीक (पेपर लीक) र शिक्षा क्षेत्रका समग्र समस्याबारे संसदमा तत्काल बहस हुनुपर्ने।


विद्यार्थीहरूमाथि गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीले देशवासीसँग माफी माग्नुपर्ने।
​दिल्लीमा राजनीतिक दलहरू र विद्यार्थीहरूको संयुक्त विरोधका कारण राजधानीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।