भक्तपुर। उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी समाले पछि एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम र अनुशासन पालना गराउन सक्रिय भएर लागेका छन्। लामो समयदेखि अनौपचारिक रूपमा माइक्रोबस पार्कका रूपमा प्रयोग हुँदै आएको भक्तपुरको नयाँ थिमी चोकको दक्षिणतर्फ रहेको सर्भिस लेन खाली गरिएको छ।

उपत्यका ट्राफिक कार्यालयको नेतृत्वमा सुरेश काफ्ले आएपछि गरिएको यस कदमलाई स्थानीयवासी, व्यवसायी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणले सकारात्मक रूपमा स्वागत गरेका छन्।वर्षौंदेखि उक्त सर्भिस लेनमा माइक्रोबसहरू लामबद्ध रूपमा पार्क गरिँदा पैदलयात्री तथा साना सवारीसाधन चालकले दैनिक सास्ती भोग्दै आएका थिए।

सर्भिस लेन नै बसपार्कजस्तै बनेपछि सडकको वास्तविक उद्देश्य प्रभावित भएको थियो। पैदल हिँड्ने, स्कुटर, मोटरसाइकल तथा अन्य साना सवारीसाधन सञ्चालन गर्नेहरूलाई सहज आवागमन गर्न कठिन हुने गरेको स्थानीयको गुनासो थियो।

नयाँ थिमी चोकबाट करिब ३०० मिटरको दूरीमा रहेको मध्यपुर थिमि अस्पतालसम्म बिरामी बोकेको एम्बुलेन्स पुर्‍याउनसमेत समस्या हुने गरेको बताइन्छ। सर्भिस लेनमा माइक्रोबसको अव्यवस्थित पार्किङका कारण आपत्कालीन सेवासमेत प्रभावित हुने अवस्था रहेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार माइक्रोबसका चालक तथा सहचालकले सर्भिस लेन प्रयोग गर्ने पैदलयात्री र दुईपाङ्ग्रे तथा साना सवारीसाधन चालकलाई गालीगलौज गर्ने, दुर्व्यवहार गर्ने तथा बाटो छाड्न दबाब दिने घटनासमेत हुने गरेका थिए। यसले सर्वसाधारणमा असुरक्षाको भावना बढाएको थियो।


हिजोदेखि उक्त माइक्रोबस पार्क हटाइएपछि त्यस क्षेत्रको वातावरणमा उल्लेखनीय सुधार आएको स्थानीय व्यवसायीहरू बताउँछन्। अहिले सर्भिस लेन खुला भएपछि पैदलयात्रु, साइकल तथा साना सवारीसाधनलाई सहज रूपमा आवतजावत गर्न मिलेको छ। व्यवसायीहरूले पनि ग्राहक आउजाउ सहज भएको प्रतिक्रिया दिएका छन्।

स्थानीयका अनुसार यसअघि पनि पटक–पटक उक्त स्थानबाट माइक्रोबस पार्क हटाउने प्रयास भए पनि सफल हुन सकेको थिएन। स्थानीय राजनीतिक दलका केही नेता तथा माइक्रोबस व्यवसायीको संरक्षणका कारण कारबाही प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप स्थानीयले लगाउँदै आएका थिए।


यसपटक भने उपत्यका ट्राफिक कार्यालयको सक्रियतामा सर्भिस लेन खाली गराइएपछि स्थानीयवासीले यसको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले सार्वजनिक सडक र सर्भिस लेनलाई अतिक्रमणमुक्त राख्न यस्ता अभियान निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।


स्थानीयको अपेक्षा छ, सर्भिस लेन पुनः अव्यवस्थित पार्किङको थलो बन्न नदिई नियमित अनुगमन र कडाइ कायम राखिएमा नयाँ थिमी क्षेत्रको सवारी व्यवस्थापन थप व्यवस्थित र सुरक्षित बन्नेछ। उपत्यका ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जनशक्तिकाे कमिले सबै ठाउँमा ट्राफिक प्रहरी नपुग्न सक्छ तर नागरिकले आफ्नो वरिपरि भएका समस्या ट्राफिक प्रहरी कार्यलयलाई जानकारी दिने हाे भने हामी तुरुन्तै कार्वाही प्रक्रिया अघि बढाउछौ।