सुनसरी: सुनसरीको देवानगन्जमा कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका पाँच क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।

तर, कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनकारीहरू सोमबार मध्याह्नदेखि सडकमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणबाहिर जान थालेको भन्दै प्रशासनले नेपाली सेना परिचालन गरेको जनाएको छ।

क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।