
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप २०२६ का क्रममा देखिएको विवादास्पद व्यवहारलाई लिएर अर्जेन्टिनी फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरेको छ। फकल्याण्ड टापु (माल्भिनास) सम्बन्धी राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन तथा विश्वकप फाइनलपछि खेलाडीहरूबीच भएको हातपातका घटनालाई आधार बनाएर फिफाले अनुसन्धान अघि बढाएको हो।
अर्जेन्टिना विश्वकप फाइनलमा स्पेनसँग १–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। त्यसअघि सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लियोनेल मेस्सीको टोलीले फाइनल यात्रा तय गरेको थियो। फाइनल समाप्त भएपछि अर्जेन्टिनी खेलाडीहरूले “लास माल्भिनास सोन अर्जेन्टिनास” अर्थात् “फकल्याण्ड टापु अर्जेन्टिनाकै हो” भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।
फिफाको नियमअनुसार खेल मैदानमा राजनीतिक सन्देश दिन निषेध गरिएको छ। यही कारण फाइनल सकिएलगत्तै फिफाले घटनाबारे अध्ययन सुरु गरेको थियो। दुई सातापछि फिफाले अर्जेन्टिनी फुटबल संघविरुद्ध औपचारिक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको घोषणा गरेको हो।
फिफाले जारी गरेको विज्ञप्तिअनुसार अर्जेन्टिनी फुटबल संघमाथि फिफा अनुशासन संहिताको धारा १३ (गैर–खेलकुद प्रदर्शनका लागि खेलको प्रयोग), धारा १४ (टोलीको दुर्व्यवहार), धारा १५ (भेदभाव तथा रंगभेद) र धारा १७ (खेलको सुरक्षा तथा व्यवस्था) उल्लंघन गरेको आशंकामा अनुसन्धान भइरहेको छ।
फिफाका अनुसार कारबाहीको दायरा केवल ब्यानर प्रदर्शनमा सीमित छैन। विश्वकपका विभिन्न खेलहरूमा देखिएका भेदभावपूर्ण नारा, खेल ढिलो सुरु भएको, सुरक्षा प्रोटोकल पालना नगरेको, अनुपयुक्त सन्देश प्रदर्शन गरिएको तथा दर्शकहरूले मैदानमा वस्तु फ्याँकेको घटनालाई पनि अनुसन्धानमा समेटिएको छ।

फाइनलपछि मेटलाइफ स्टेडियममा भएको झडप पनि अनुसन्धानको मुख्य विषय बनेको छ। भिडियो फुटेजमा अर्जेन्टिनी खेलाडी लियान्द्रो पारेडेसले स्पेनका एरिक गार्सियासँग विवाद गर्दै उनको कठालो समातेको देखिएको छ। त्यस्तै, नाहुएल मोलिनाले स्पेनका स्टार खेलाडी रोड्रीलाई प्रहार गरेको दृश्य पनि सार्वजनिक भएको थियो। घटनामा थियागो अल्माडा र अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयला पनि संलग्न रहेको आरोप छ।
फिफाले नाहुएल मोलिना, लियान्द्रो पारेडेस र रोबर्टो आयलामाथि हातपातको आरोपमा छुट्टै अनुशासनात्मक प्रक्रिया सुरु गरेको जनाएको छ। साथै मोलिना, थियागो अल्माडा तथा स्पेनका मिडफिल्डर गाभीमाथि खेलभावनाविपरीत व्यवहार गरेको आरोपमा पनि अनुसन्धान भइरहेको छ।
फिफाले आरोपित सबैलाई आफ्नो पक्ष राख्ने अवसर दिइने र त्यसपछि अनुशासन समितिले अन्तिम निर्णय गर्ने जनाएको छ। दोषी ठहरिएमा खेलाडी वा अधिकारीलाई विश्वव्यापी रूपमा फुटबल गतिविधिबाट निलम्बन, जरिवाना वा अन्य कडा कारबाही हुन सक्नेछ।
यसअघि पनि फिफाले यस्तै घटनामा कडा कदम चाल्दै आएको छ। महिला विश्वकप फाइनलपछि खेलाडीलाई ओठमा चुम्बन गरेको घटनामा स्पेनिस फुटबल संघका तत्कालीन अध्यक्ष लुइस रुबियल्समाथि प्रतिबन्ध लगाइएको थियो। त्यस्तै, सन् २०१४ को विश्वकपमा इटालीका जियोर्जियो चिलिनीलाई टोकेको आरोपमा उरुग्वेका लुइस सुआरेज चार महिनाका लागि प्रतिबन्धित भएका थिए।
राजनीतिक सन्देश प्रदर्शनका विषयमा पनि अर्जेन्टिनाको विगत राम्रो छैन। सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै प्रकारको माल्भिनास ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरिएको थियो। यसपटक इंग्ल्यान्डविरुद्धको खेलपछि ब्यानर बोकेका क्रिस्टियन रोमेरो, लिजान्ड्रो मार्टिनेज र जियोभानी लो सेल्सोमाथि पनि थप कारबाही हुन सक्ने अनुमान गरिएको छ।
फिफाको अन्तिम निर्णय आउन अझ केही समय लाग्ने भए पनि विश्व फुटबलमा खेल र राजनीतिक सन्देशबीचको सीमारेखा तथा खेलभावनाको विषय फेरि एकपटक बहसको केन्द्रमा आएको छ।














Comments