एथेन्स। ग्रीसको राजधानी एथेन्सको उत्तरपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलो नियन्त्रणका क्रममा परिचालन गरिएका दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।


अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटनामा एउटा हेलिकप्टरमा रहेका एक ग्रीक र एक डेनिस नागरिकको ज्यान गएको हो। अर्को हेलिकप्टरमा रहेका एक ग्रीक र एक बेलायती चालक दलका सदस्य भने सकुशल रहेका छन।


आइतबार एटिका क्षेत्रको पसाथामा नजिक फैलिएको डढेलोमाथि पानी खन्याइरहेका बेला कम उचाइमा उडिरहेका दुई हेलिकप्टर आपसमा ठोक्किएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुई हेलिकप्टर एकअर्कालाई क्रस गर्ने क्रममा तल उडिरहेको हेलिकप्टरको मुख्य रोटर माथिल्लो हेलिकप्टरको तल्लो भागमा ठोक्किएको देखिन्छ।

त्यसपछि माथिल्लो हेलिकप्टर आगोको मुस्लोसहित जमिनमा खसेको दृश्य देखिन्छ। अर्को हेलिकप्टरले भने पानी खसाल्दै सुरक्षित रूपमा घटनास्थलबाट उडेको देखिए पनि उक्त भिडियोको आधिकारिक पुष्टि भने रोयटर्सले गरेको छैन।


ग्रीसको अग्नि नियन्त्रण सेवाले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ। एथेन्सबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको डढेलोले हालसम्म १०० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ। शक्तिशाली हावाका कारण आगो पहाड पार गर्दै बस्ती र सैन्य अभ्यास क्षेत्रमा पुगेपछि त्यहाँ रहेका विस्फोट नभएका गोला–बारुदमा समेत आगलागी भएको अधिकारीहरूले बताएका छन्।


उद्धार टोलीले करिब ३० हजार जनसंख्या रहेको तटीय सहर मेगारातर्फ आगो फैलिन नदिन प्रयास तीव्र बनाएको छ। औद्योगिक क्षेत्रसहित आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आपत्कालीन सूचना जारी गरिएको छ।


प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले वर्तमान अवस्था अत्यन्त कठिन रहेको बताउँदै प्रकृतिको शक्ति र मौसमको तीव्रताले मानवीय तयारीलाई समेत चुनौती दिएको बताएका छन्। प्रारम्भिक अनुसन्धानले बोयोटिया क्षेत्रमा सुरु भएको आगलागी निजी विद्युत् प्रसारण लाइनमा भएको सर्टका कारण हुन सक्ने देखाएको छ।


यता, स्पेनमा गत सातादेखि फैलिएको डढेलो अधिकांश क्षेत्रमा नियन्त्रणमा आए पनि केही स्थानमा पुनः आगो बलिरहेको छ। युरोपका विभिन्न देश अहिले डढेलोसँगै खडेरीको संकटसँग पनि जुधिरहेका छन्। राइन र ड्यान्युबजस्ता प्रमुख नदीहरूको जलस्तर ऐतिहासिक रूपमा घट्दा जलयातायात, ऊर्जा उत्पादन, पर्यटन र खानेपानी आपूर्तिमा समेत गम्भीर असर परेको छ।