
काठमाडौं। जनसांस्कृतिक महासङ्घ, नेपालले साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, नाटक तथा जनसांस्कृतिक आन्दोलनमा योगदान पुर्याएका ६१ जना अग्रज तथा क्रियाशील स्रष्टा र कलाकारलाई सम्मान गरेको छ।
बुद्धनगरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न विधामा सम्मान प्रदान गरिएको हो। कार्यक्रमको सहआयोजनामा नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, रामेछाप र इन्द्रेणी सांस्कृतिक विकास केन्द्र रहेका थिए।
कार्यक्रममा जनवादी कला क्षेत्रका जेबी टुहुरे, खुशीराम पाख्रिन र प्रमोद हमाललाई मरणोपरान्त स्रष्टा सम्मान अर्पण गरिएको थियो। सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङलाई प्रगतिशील बलिदान स्रष्टा सम्मान प्रदान गरियो।
वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान–२०८३ बाट निनु चापागाई, मेघराज शर्मा ‘मञ्जुल’, रामकृष्ण दुवाल, श्याम तमोट र जीवन शर्मा सम्मानित भए।
यस्तै, गीत, सङ्गीत, नाटक, साहित्य, चलचित्र, नृत्य, ललितकला तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएका दर्जनौं स्रष्टा र कलाकारलाई प्रगतिशील स्रष्टा सम्मान–२०८३ तथा जागरण स्रष्टा सम्मान–२०८३ प्रदान गरिएको थियो। सम्मानित हुनेमा अमर गिरी, शम्भु राई, बद्री पंगेनी, पशुपति शर्मा, विष्णु खत्री, प्रकाश सपुत, नवल खड्का, मनोज पण्डित, थानेश्वर गौतम, बीबी अनुरागी, सुरेश अधिकारी, रत्न विक, लोचन भट्टराई, निर्मला घिसिङ, पूजा ठकुरी, ऋषि अधिकारी, विनोद बमलगायत रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जनसांस्कृतिक महासङ्घका केन्द्रीय इन्चार्ज चिरन पुनले प्रगतिशील र व्यवसायिक सांस्कृतिककर्मीबीच सहकार्य तथा सद्भाव आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले सांस्कृतिक आन्दोलनलाई थप सुदृढ बनाउने र प्रगतिशील गीत–सङ्गीतको लोकप्रियता बढाउने धारणा राखे।
महासङ्घका केन्द्रीय संयोजक भीम कुमाखीले वर्तमान सांस्कृतिक आन्दोलन विगतका आन्दोलन र परिवर्तनको उपलब्धिको निरन्तरता भएको उल्लेख गर्दै स्रष्टाहरूको योगदानको सम्मान गर्नु आवश्यक रहेको बताए।
कार्यक्रममा जनकलाकारहरूले कालजयी जनवादी गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कवि स्वप्निल स्मृतिले ‘१ मिनेट मौनधारण’ शीर्षकको कविता वाचन गरेका थिए भने सम्मानित स्रष्टाका तर्फबाट वरिष्ठ लेखक निनु चापागाईले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई लक्ष्यमा केन्द्रित राख्न आग्रह गरे।
कार्यक्रमको अध्यक्षता नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानका संस्थापक रमेशबाबु श्रेष्ठले गरेका थिए भने सञ्चालन कुश्मा महरा ‘प्रगति’, बखतबहादुर हमाल ‘सुवर्ण’ र रमेश श्रेष्ठले गरेका थिए।













Comments