
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालका कम्युनिष्ट पार्टीहरू आन्दोलन र विद्रोहका क्रममा प्रभावकारी देखिए पनि सरकार सञ्चालन र राज्यसत्ता व्यवस्थापनमा अपेक्षाकृत कमजोर रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था गम्भीर समीक्षा गर्नुपर्ने चरणमा पुगेको बताएका हुन्। उनका अनुसार सरकारमा पुगेपछि जनसमर्थन र राजनीतिक शक्ति बढ्नुपर्ने कम्युनिष्ट मान्यता नेपालमा अपेक्षित रूपमा स्थापित हुन सकेको छैन।
पोखरेलले कम्युनिष्ट नेतृत्वमा बनेका सरकारले देशभक्ति, पूर्वाधार निर्माण र सामाजिक सुरक्षाका क्षेत्रमा महत्वपूर्ण काम गरेको भए पनि त्यसको राजनीतिक लाभ जनमत विस्तारमा रूपान्तरण हुन नसकेको उल्लेख गरेका छन्।
उनले २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौमहिने सरकारलाई भने जनमत विस्तार गर्न सफल उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
उनका अनुसार २०८२ सालमा वामपन्थी आन्दोलनले ठूलो राजनीतिक धक्का बेहोरेको छ । यस्तो अवस्थामा पुरानै कार्यशैलीबाट कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने भन्दै उनले आधारभूत वर्ग र समुदायका मानिसहरू किन कम्युनिष्ट पार्टीबाट टाढिँदै छन् भन्ने प्रश्नको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
नेता कार्यकर्तामा सामाजिक परिवर्तनप्रतिको उत्साह कमजोर हुँदै जानुको कारणसमेत पहिचान गर्नुपर्ने उनको भनाइ छ । समस्या देखिएर पछि हट्नुको सट्टा त्यसको कारण पहिल्याएर समाधानतर्फ अघि बढ्नुपर्ने उनले बताएका छन्।
पोखरेलले समस्याको कारणमै समाधानको आधार खोजिनुपर्ने विषयलाई मार्क्सवादी मान्यतासँग जोड्दै कम्युनिष्ट आन्दोलनको पुनर्जागरणका लागि आत्मसमीक्षा अपरिहार्य रहेको संकेत गरेका छन्।











Comments