काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै आज (सोमबार)देखि देशभरका म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।

संघको निर्णयसँगै म्यानपावर कार्यालयबाट हुने वैदेशिक रोजगारीसम्बन्धी सेवा तथा श्रमिकलाई विदेश पठाउने सम्पूर्ण प्रक्रिया ठप्प हुने भएको छ। नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट, रिक्रुटिङ तथा अन्य प्रक्रियासमेत प्रभावित हुनेछन्।

सरकारलाई दिएको अल्टिमेटमभित्र माग सम्बोधन नभएपछि व्यवसायीहरूले आन्दोलनलाई थप कडा बनाएका हुन्। संघले सेवा शुल्क निर्धारण, व्यवसायीमाथि गरिएको कारबाही फिर्ता, श्रम गन्तव्य मुलुकतर्फको हवाई भाडा घटाउने तथा वैदेशिक रोजगार क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्नुपर्नेलगायत १५ बुँदे माग अघि सारेको छ।

यसअघि नै व्यवसायीहरूले पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकेका थिए। अब कार्यालय नै बन्द भएपछि वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका श्रमिकको प्रक्रिया थप प्रभावित हुने देखिएको छ।

संघका अध्यक्ष डिकबहादुर खत्रीले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। सरकार र व्यवसायीबीच वार्ता तथा आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढाउने तयारी रहेको संघले जनाएको छ।

म्यानपावर व्यवसायीको निर्णयबाट भिसा प्राप्त गरिसकेर उडानको तयारीमा रहेका श्रमिकसमेत प्रभावित हुन सक्ने देखिएको छ।