काठमाडौं। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच साउनको पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिउँसो ३ बजे नयाँ मन्त्रीहरूलाई शपथ गराउने तयारी गरेका छन्।

सरकारमा सहभागी हुने नेकपाका मन्त्रीहरूको नाम टुंगो लागेपछि शपथ ग्रहण गराउने तयारी गरिएको हो। यद्यपि, मन्त्रीहरूको नाममा अन्तिम सहमति भने अझै जुट्न बाँकी रहेको स्रोतले जनाएको छ।

सहमति अनुसार नेकपाले कोशी प्रदेश सरकारमा चारवटा मन्त्रालय पाउने निश्चित भएको छ। तर, नेकपाले पाउने मन्त्रालयको औपचारिक टुंगो भने सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार नेकपाले पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन, पर्यटन र स्वास्थ्य वा कृषिमध्ये एक मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले साउन २५ गते राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय मुख्यमन्त्री कार्की आफैँले हेर्दै आएका छन्।

नेकपाको तर्फबाट सरकारमा सहभागी हुने सम्भावित नाममा गोम्बु शेर्पा, खिनु लिम्बू, राजन किराँती र दुर्गा चापागाईंमध्ये केही रहेको स्रोतले जनाएको छ। यीमध्ये चारै जनाको नामबारे विभिन्न विकल्पमा छलफल भइरहे पनि अन्तिम निर्णय भने हुन बाँकी छ।

एमाले र नेकपाबीचको सहमतिपछि हुन लागेको मन्त्रिपरिषद् विस्तारलाई कोशी प्रदेश सरकारको सत्ता समीकरणमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।