काठमाडौँ। जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित कार्यक्रममा निवर्तमान उपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


जन आकाश मिडियाका प्रधान सम्पादक मोहन कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदी, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शान्तराम विडारी, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका उपाध्यक्ष कमल रानालगायतको उपस्थिति थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रानामगरले पत्रकार किशोर श्रेष्ठको घर तथा कार्यालयमा प्रहरीले गरेको खानतलासीप्रति आपत्ति जनाउनुभयो। श्रेष्ठलाई किन थुनियो भन्ने विषय फरक हुन सक्ने भए पनि संविधान र कानुनको सीमाभन्दा बाहिर गएर राज्यले कसैको घर वा कार्यालयमा खानतलासी गर्न नहुने उहाँको भनाइ थियो।


रानामगरले राज्यले सञ्चारमाध्यमलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताउँदै लोककल्याणकारी विज्ञापनबापतको रकम रोकिएको विषयमा सम्बन्धित मन्त्रालयमा बुझेर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले पछिल्लो समय साप्ताहिक पत्रपत्रिका तथा समग्र मिडिया क्षेत्र नै मरणासन्न अवस्थामा पुगेको बताउनुभयो। राज्यले सञ्चारमाध्यमलाई आवश्यकताअनुसार प्रयोग गर्ने गरे पनि संरक्षण र प्रवर्द्धनमा पर्याप्त ध्यान नदिएको उहाँको आरोप थियो।

\सुवेदीले पत्रकार किशोर श्रेष्ठलाई गैरन्यायिक रूपमा हिरासतमा राखिएको भन्दै तत्काल रिहाइका लागि पहल गर्न प्रमुख अतिथि रानामगरसँग आग्रह गर्नुभयो। प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर श्रेष्ठलाई पक्राउ गरिएको दाबी गर्दै उहाँले अप्ठ्यारो पर्दा सञ्चारकर्मीले साथ दिएको स्मरण गराउँदै अहिले सञ्चार क्षेत्र अप्ठ्यारोमा पर्दा जनप्रतिनिधिले पनि आवाज उठाउनुपर्ने बताउनुभयो।


कार्यक्रम राष्ट्रिय गीतबाट सुरु भएको थियो। कार्यक्रममा कविता, गीत तथा सुसेली प्रस्तुतिका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूले जन आकाश मिडियाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।


चर्चित गायक गोविन्द मधुर, विष्णु परियारलगायत कलाकार तथा प्रतिभाहरूले गीत, कविता र सुसेली प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए। दीपेश एसके र प्रतिमा राईले स्वदेशगानमा स्वागत नृत्य प्रस्तुत गरेका थिए।


‘संगीत खबर’ कार्यक्रममा सहभागी कलाकार तथा जन आकाश मिडियाका पत्रकार विनोद कार्कीले रचना गरेको ‘फूल भिरैमा’ लोकआधुनिक गीतमा स्वर, संगीत तथा नृत्य प्रस्तुत गर्ने कलाकारहरूलाई कदरपत्र प्रदान गरिएको थियो।


कार्यक्रममा उपस्थित हुन नसकेका पूर्व उपरथी तेजप्रकाश बाँनिया र वरिष्ठ समाजसेवी भद्रकुमारी घलेले पनि शुभकामना सन्देश पठाउनुभएको थियो। उहाँहरूले पठाउनुभएको कविता तथा सुसेली कार्यक्रममा वाचन गरिएको थियो।

कार्यक्रममा जन आकाश मिडियाका आजीवन सदस्यहरूलाई प्रमुख अतिथि रानामगरको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो। उपस्थित सबैलाई कार्यक्रमका सभापति तथा प्रमुख अतिथिको हातबाट मायाको चिनो प्रदान गरिएको थियो।


जन आकाश साप्ताहिकले विगत १० वर्षदेखि सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्दै आएको जनाइएको छ। जन आकाश मिडियाका सञ्चालक तथा प्रधान सम्पादक मोहन कार्की पत्रकारसँगै गीतकार, साहित्यकार तथा लेखकसमेत हुनुहुन्छ। उहाँद्वारा लिखित ‘माइली’ उपन्यास, ‘कृपज विकासवादी’ कृतिसहित ‘आउन साथी आऊ, सबै मिली विजयको मिठो गीत गाऊ’ र ‘मलाई सुन्दर नेपाल बनाउने रहर छ’ बोलका स्वदेशगानसमेत सार्वजनिक भइसकेका छन्।


वार्षिकोत्सव समारोहमा सहभागी अतिथिहरूले जन आकाश मिडियाले पत्रकारिता तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए।