काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै पार्टीको इतर पक्षले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा इतर समूहले कानुनी बाटो रोज्न लागेको हो। महाधिवेशन प्रक्रिया अघि बढाउँदा पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भन्दै इतर पक्षले अदालतको हस्तक्षेप माग गर्न लागेको बताइएको छ।

नेता मीन विश्वकर्माका अनुसार पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट दर्ता गरिनेछ। रिटको तयारीका क्रममा कानुन व्यवसायीसँग आवश्यक परामर्श भइरहेको उनले जानकारी दिए।

विश्वकर्माले शीर्ष नेताहरू भने स्वयं अदालतमा उपस्थित नहुने स्पष्ट पारेका छन्। कानुनी प्रक्रिया र रिटको विषयमा आवश्यक तयारी कानुन व्यवसायीमार्फत भइरहेको उनको भनाइ छ।

नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि नै पुनः सुनुवाइका लागि निस्सा प्रदान गरिसकेको छ। उक्त विवादको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउँदा थप कानुनी जटिलता उत्पन्न हुनसक्ने इतर पक्षको दाबी छ।

त्यसैले आधिकारिकता विवादको अन्तिम फैसला नआएसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न माग गर्दै अन्तरिम आदेश जारी गर्न सर्वोच्चसँग माग गर्ने तयारी गरिएको हो।