काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६७ अङ्कले घटेको छ । यससँगै नेप्से परिसूचक २६१८.७२ विन्दुमा झरेर बन्द भएको हो ।

आज ३४४ कम्पनीका १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभरको कारोबारमा कुल ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये ७० वटाको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १३.८६ प्रतिशतले वृद्धि भएको छ । राप्ती हाइड्रो र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पनि सेयर मूल्य वृद्धिबाट लाभ लिएका छन् ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोलु हाइड्रोपावरको २४ करोड ५३ लाख, रुरु जलविद्युत परियोजनाको १८ करोड ६७ लाख, साहस ऊर्जाको १८ करोड ४१ लाख र तामोर हाइड्रोको १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।