
काठमाडौं । जापानी इन्सेफलाइटिस (जेई) का कारण यस वर्ष २१ जनाको मृत्यु भएको छ। उपलब्ध विवरणअनुसार जेई संक्रमित मध्ये ४३ जना पुरुष र ३७ जना महिला रहेका छन्। संक्रमितमध्ये मृत्यु हुने दर (केस फ्याटालिटी रेट) २६ प्रतिशत रहेको छ।
जेई लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग हो। सुरुमा सामान्य रुघाखोकीजस्ता लक्षण देखिए पनि संक्रमण बढ्दै जाँदा यसले मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ।
यस्ता लक्षण देखिए सचेत हुनुपर्छ
जेई संक्रमणको सुरुवाती चरणमा रुघाखोकीजस्ता सामान्य लक्षण देखिन सक्छन्। त्यसपछि उच्च ज्वरो आउने, जाडो तथा कम्पन हुने र अत्यधिक टाउको दुख्ने समस्या देखिन सक्छ।
त्यसैगरी वाकवाकी लाग्ने, वान्ता हुने, झर्को मान्ने, बेसुर हुने, बर्बराउने, मुर्छा पर्ने तथा बेहोस हुनेजस्ता गम्भीर लक्षण देखा पर्न सक्छन्।
यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन्। बिरामीलाई तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुर्याउनुपर्छ। समयमै उपचार पाएमा जटिलता कम गर्न र ज्यान जोगाउन सकिने सम्भावना हुन्छ। ढिला उपचार पाएमा मस्तिष्कमा गम्भीर क्षति पुग्नुका साथै मृत्युको जोखिमसमेत बढ्न सक्छ।
लामखुट्टेको टोकाइबाट जोगिनु मुख्य उपाय
जेईबाट बच्न लामखुट्टेको टोकाइबाट सुरक्षित रहनु महत्वपूर्ण मानिन्छ। घरका झ्याल तथा ढोकामा जाली राख्ने, घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने र हातखुट्टा पूरा ढाकिने कपडा लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ।
त्यस्तै, झुलभित्र सुत्ने, लामखुट्टे भगाउने धूप वा अन्य सुरक्षित साधन प्रयोग गर्ने तथा शरीरमा लामखुट्टे भगाउने मलम लगाउने गर्नुपर्छ।
खोपबाट पनि सुरक्षा
जापानी इन्सेफलाइटिसबाट बच्ने प्रभावकारी उपायमध्ये जेई खोप पनि महत्वपूर्ण छ। बालबालिकालाई सरकारले तोकेको उमेर र राष्ट्रिय खोप कार्यक्रमअनुसार जेई खोप लगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। १२ महिनाको उमेर पुगेका बालबालिकालाई जेई खोप लगाउनुपर्ने व्यवस्था रहेको छ।
स्वास्थ्यकर्मीहरूले जेईका सम्भावित लक्षण देखिएमा ढिला नगरी अस्पताल पुग्न तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायलाई दैनिक जीवनमा अनिवार्य रूपमा अपनाउन आग्रह गरेका छन्।











Comments