
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब ८ बजे आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति अखिल नेपाल ट्रेड युनियन महासंघले गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा बाढीबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको
महासंघले विपत्तिको यस दुःखद घडीमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सम्पूर्ण सरोकारवालालाई उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन र प्रभावकारी समन्वय गर्न आग्रह गरेको छ।
बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा राहतका लागि उदारतापूर्वक सहयोग गर्न महासंघले सम्पूर्ण जनसमुदायमा अपिलसमेत गरेको छ।
महासंघले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, प्रतिष्ठान तथा आबद्ध संगठनका नेता–कार्यकर्ता र सदस्यहरूलाई उद्धार, राहत तथा मानवीय सहयोगका कार्यमा सक्रियतापूर्वक परिचालित हुनसमेत आह्वान गरेको छ।
महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाद्वारा जारी विज्ञप्तिमा विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखी तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ।














Comments