
काठमाडौं। रसुवा बाढीको भोलिपल्ट (भदौ ११ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी वायुसेनाको जहाज अवतरण भयो र तीन घण्टापछि फेरि फर्कियो । त्यसयता कतिपय विश्लेषक र टिप्पणीकर्ताले ठूलो संख्यामा अमेरिकी सेना काठमाडौं उत्रिएको चर्चा पनि गरे ।
अमेरिकी वायुसेनाको ट्रेक ९९० सिरिज र सी ३० कलसाइन भएको जहाज अगष्ट २७ (भदौ ११) को बिहान ९ः३० मा अवतरण भएको थियो । र, १२ः५० मा फर्कियो ।
उक्त जहाज बाढी पीडितका लागि राहतका सामान बोकेर आएको र ती सबै सामान बुझ्ने काम नेपाली सेनाले गरेको उनले जानकारी दिए ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार अमेरिकासहित विभिन्न देशबाट आएका जहाज वा राहतका सामानको विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित देश र नेपालस्थित ती देशका दूतावाससँग समन्वय गर्ने गरेको छ । अमेरिकी जहाज पनि सोही प्रक्रियाबाट आएको हो । अमेरिकी सेना उत्रिएको भन्ने हल्ला निराधार भएको उनको भनाइ छ ।
सहायक रथी बस्नेतले भने– जहाज आएको विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित देशहरूसँग र एम्बेसीहरूसँग समन्वय गरेको हुन्छ । हामीले खोज तथा उद्धारमा खटिएको विदेशी टीम (सेना) सँग निश्चित ठाउँमा संयुक्त रूपमा काम गरिरहेका छौँ ।
बस्नेतका अनुसार नेपालमा भारतीय र चिनिया सेनाको उद्धार टोली आएर सुरुङमा खोज तथा उद्धारमा सहयोग गरिरहेका छन् । कोरियन टिम पनि आएको छ । उक्त टिमले रेकी पश्चात् आजबाट काममा जुट्ने उनले जानकारी दिए ।
‘अहिले नेपाली सेनाबाहेक तीनवटा टीमले काम गरिरहेको छ,’ उनले भने, ‘जुन–जुन देशको परियोजना हो, त्यही–त्यही देशका टीम (सेना) आएर नेपाली सेनासँग काम गरिरहेका हुन् ।’अमेरिकी सेना चाहिँ नआएको उनले प्रष्ट पारे ।













Comments