काठमाडौँ: प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै मुलुकमा देखिएको संकट समाधान नहुने बताएका छन्।

बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले विपत्तिको समयमा नागरिकले सरकारको उपस्थिति र प्रभावकारी काम खोजिरहेको बताए। उनले अहिले नागरिकलाई सामाजिक सञ्जालका पोस्टभन्दा राज्यको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको धारणा राखे।

‘पीडित नागरिकले पोस्ट होइन, सरकार खोजेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरेर चुनाव त जित्नुभयो, तर यो संकट समाधान हुँदैन,’ प्रचण्डले भने।

उनले संकटको समयमा राज्य देखिनुपर्ने, दुःखमा सरकारको उपस्थिति हुनुपर्ने र विपत्तिमा राष्ट्र एकजुट हुनुपर्ने बताए। प्रधानमन्त्री सबैको प्रधानमन्त्री भएकाले सबैको विश्वास जित्ने गरी गम्भीरतापूर्वक अघि बढ्नुपर्ने उनको भनाइ थियो।

भोटेकोशी उद्धारमा सरकार असफल भएको आरोप

भोटेकोशी बाढीपछि सञ्चालन भइरहेको उद्धार तथा राहत कार्यप्रति प्रचण्डले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। जनस्तरबाट सरकार उद्धारमा असफल भएको गुनासो आइरहेको भन्दै उनले सरकारलाई अहंकार नगरी कमजोरीबाट पाठ सिक्न आग्रह गरे।

उनका अनुसार सरकारले सेना परिचालन गर्न सके पनि व्यापक जनपरिचालन र समन्वयमा कमजोरी देखिएको छ।

‘सेनाले जोखिम मोलेर उद्धार र राहतमा राम्रो भूमिका खेलेको छ। तर महाविपत्तिको सामना गर्न सबै तहका सरकार र जनतालाई विश्वासमा लिएर परिचालन गर्नुपर्ने थियो। सेना परिचालन भयो, जनपरिचालन भएन,’ उनले भने।

प्रचण्डले भोटेकोशी बाढी गएको दिन प्रधानमन्त्री र गृहमन्त्रीले देखाएको सक्रियताको आफूले प्रशंसा गरेको स्मरण गर्दै त्यसपछिको सरकारी कार्यशैलीमा भने सुस्तता देखिएको बताए। उनले सुरुआती सात दिनमा देखिएको तदारुकता पछिल्लो चरणमा कायम रहन नसकेको दाबी गरे।

सुरुङ उद्धारमा ढिलाइ भएको दाबी

प्रचण्डले भोटेकोशी बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले समयमै पहल नगरेको आरोप लगाए। विदेशी विज्ञहरूले समेत सहयोगको प्रस्ताव गर्दा सरकारले आवश्यक तत्परता नदेखाएको उनको भनाइ थियो।

‘टनेलमा उद्धारका लागि ढिला भयो। अन्तिममा सुरक्षा निकायले हात उठाउनुपर्ने र “सकेनौँ” भन्ने अवस्था आउनु गम्भीर विषय हो,’ उनले भने।

अब सरकार राहत, तत्काल पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने प्रचण्डले बताए। विपत्तिपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउने अवसर सरकारसँग रहेको भन्दै उनले उक्त अवसर गुमाउन नहुनेमा जोड दिए। सरकारका लागि यो राम्रो औचित्य सिद्ध गर्ने अवसर हो। यो अवसर गुम्न नपाओस प्रचण्डले भने।