काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा पावर हाउसमा श्रमिक र प्राविधिक कर्मचारी फसेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ।

नेपाली सेनाले शुक्रबार दिनभर विभिन्न आयोजनामा गरिएको खोज तथा उद्धार प्रयासबारे विवरण सार्वजनिक गरेको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको थियो।

शुक्रबार उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरेको छ। उद्धार गरिएका उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको छ।

खोज तथा उद्धारका क्रममा सोही स्थानबाट एक जनाको शवसमेत निकालिएको सेनाले जनाएको छ। सुरुङभित्र थप व्यक्ति फसेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ।

उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरबाट बाटो निर्माण गर्न बबक्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने काम भइरहेको सेनाले जनाएको छ।

उद्धार टोली अडिट टनेल–१ बाट ४२६ मिटरभित्र प्रवेश गरिसकेको छ। साथै, अडिट–१ बाट एक्स्काभेटर प्रवेश गराई अपरेटरसहित त्रिशूली–३ ‘ए’ सँग लिङ्कअप गराउने प्रयास भइरहेको छ।

लाङटाङ खोला जलविद्युत आयोजना

लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाका २५ जना तथा गैरसैनिक दुई जनासहितको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र प्रवेश गरेको छ।

टोलीले टनेलभित्रबाट दुई वटा शव फेला पारेको सेनाले जनाएको छ। थप व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ।

चिलिमे जलविद्युत आयोजना

चिलिमे जलविद्युत आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र मडपम्पको सहायताले टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको हाकुस्थित टनेलमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ।

टोलीले र्‍याफ्ट र बोटको समेत प्रयोग गरी टनेलभित्र खोजी गरिरहेको छ। साथै, टनेलभित्र जमेको पानी बाहिर निकाल्ने काम पनि भइरहेको सेनाले जनाएको छ।