
किरणले नेतृत्व छाडेपछि उनको इमानदारीताकाे चर्चा सबैतिर एउटा बहस बनेको छ।सबैले उनको गुणगान गाएका छन। पद र पावरलाई कहिल्यै महत्त्व नदिने किरणले अरुको नेतृत्व विकासमा पनि ठुलो भुमिका खेल्ने गरेका इतिहास भेटिन्छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टीको मुख्य नेतृत्वमा पुर्याउने पनि माेहन वैद्यनै थिए।धन,सम्पत्ति ,पावर,यश,आराम भन्दा पनि निष्ठा र आदर्शको राजनीतिमा बाच्ने नेपाल कम्युनिस्ट आन्दोलनका आदर्श नेता तथा बिचारक माेहन वैद्यका बारेमा जति चर्चा गर्दा पनि कमि हुन्छ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास लेखिँदा मोहन वैद्य ‘किरण’को नाम बिना त्यो अधुरो रहन्छ। प्युठानको खैरा गाउँमा शशिधर र जानुका वैद्यका पुत्रका रूपमा जन्मिएका वैद्य बाल्यकालदेखि नै अध्ययनशील, विद्रोही र वैचारिक चेतनाका धनी थिए। पारिजातले राखिदिएको उनकाे साहित्यिक नाम ‘चैतन्य’ झैँ, उनका विचार र जीवनले नेपाली राजनीतिमा चेतना, संघर्ष र आत्मपरिवर्तनको दीप बालिरहेको छ।
वि.सं. २०२१ मा उनले कम्युनिष्ट आन्दोलनमा प्रवेशका लागि आवेदन दिए र २०२२ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बने। त्यसयता उनको जीवन राजनीतिक दर्शन र क्रान्तिकारी संघर्षसँग गासिएको छ। २०२४ मा माओको रातो लकेट लगाएको आरोपमा पहिलोपटक गिरफ्तार भएका उनी त्यसपछि पटक–पटक जेल, प्रतिबन्ध र भूमिगत जीवनमा बाँचे तर कहिल्यै विचलित भएनन्। प्युठानको किसान संघर्षदेखि पोखरामा दस्तावेजसहितको गिरफ्तारी, र माओवादी जनयुद्धका भूमिगत दिनहरूसम्म उनको प्रत्येक कदम कम्युनिष्ट आन्दोलनका साक्षी हुन्।
चेतनाको दृष्टिले वैद्य उच्च स्तरका विचारक हुन्। नब्यन्याय दर्शनमा शास्त्री (२०२३) र स्नातकोत्तर (२०२७) गरेका उनले दर्शनशास्त्र, समाजशास्त्र, सौन्दर्यशास्त्र, भाषाशास्त्र र सैन्यशास्त्रमा असाधारण पकड बनाएका पनि छन्। २०३१ सालमा चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि उनले २०३५ मा सशस्त्र संघर्षको सैन्य कार्यदिशा तयार गरे, जसले पछि माओवादी जनयुद्धको रणनीतिक मार्गचित्र निर्माणमा भूमिका खेले।
२०४१ मा नेकपा (मशाल) का महासचिव निर्वाचित भई उनले विचार र संघर्षको एकता कायम राखे। २०४३ मा पञ्चायती निरंकुशताको विरोधमा भएको आक्रमण अभियान उनका नेतृत्वमा सफल भयो। यद्यपि २०४५ मा उनले उच्च नैतिकताको उदाहरण दिँदै महासचिव पदबाट राजीनामा दिए। त्यसपछि २०४८ मा नेकपा (एकता केन्द्र) र २०५१ मा नेकपा (माओवादी) को पोलिटब्युरो सदस्य हुँदै उनले माओवादी जनयुद्धको योजनाकार, रणनीतिक सल्लाहकार र प्रचण्डका गुरुका रूपमा भूमिका निर्वाह गरे।
२०६० मा भारतमा भूमिगत रहँदा गिरफ्तार भई २०६३ मा रिहा भएपछि उनले संविधानसभामा पनि सभासदका रूपमा प्रतिनिधित्व गरे तर एक वर्षमै राजीनामा दिए — यो उनकाे ‘सिद्धान्तमा सम्झौता नगर्ने’ प्रवृत्तिको उदाहरण हो।
२०६५ मा एनेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष बने पनि २०६९ मा पार्टीभित्रका विचलन र संशोधनवादविरुद्ध बिद्रोह गर्दै उनले नेकपा (माओवादी) गठन गरी अध्यक्ष बने। २०७२ मा उनले नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्व लिएर पुनः विचार र क्रान्तिको नयाँ दिशातर्फ अघि बढे। अन्ततः २०८१ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल का महासचिव बने र २०८२ असोज २९ गते उच्च राजनीतिक नैतिकताको उदाहरण प्रस्तुत गर्दै स्वेच्छाले महासचिव र केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिए — जुन निर्णय आजको राजनीति जगतका लागि अनुकरणीय छ।
वैद्य केवल राजनीतिज्ञ होइनन्, बहुआयामिक चिन्तक र लेखक पनि हुन्। दर्शनशास्त्रमा उनले ‘संघर्षको दर्शन’, ‘मार्क्सवादी दर्शन’ र ‘हिमाली दर्शन’ लेखेका छन्। सौन्दर्यशास्त्रमा ‘मार्क्सवादी कलादृष्टि र समीक्षा’ (२०५४), ‘क्रान्ति र सौन्दर्य’ (२०६४), ‘मार्क्सवादी सौन्दर्य चिन्तन’ (२०६९) र ‘मार्क्सवादी समालोचना’ (२०७७) उनका उल्लेखनीय कृतिहरू हुन्। वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्रमा आधारित ‘क्रान्ति र सिद्धान्त’, ‘मार्क्सवाद र संस्कृति’, ‘क्रान्ति र विद्रोह’, ‘नेपाली समाज र संस्कृति : एक संक्षिप्त अध्ययन’ तथा ‘संशोधनवाद र पश्चगमन’ जस्ता ग्रन्थहरूले उनको वैचारिक गहिराइ र सिद्धान्तप्रतिको निष्ठा उजागर गर्छन्।
आज मोहन वैद्य ‘किरण’ केवल एक नेता होइनन् । उनी एक विचारधारा हुन्, एक दर्शन हुन्, एक अनुशासन हुन्। संघर्ष र वैचारिक दृढताको संगम बनेका उनले नेपालमा मार्क्सवादी–लेनिनवादी–माओवादी विचारको स्थायित्व र गहिराइ स्थापित गरेका छन्।उमेरका हिसाबले असी बर्ष भएका वैद्यले कम्युनिस्ट नेताले नेतृत्व छाड्दैनन् भन्ने भास्यलाई पनि चिरिदिएका छन्। वैद्यबाट केही सिक्ने कि?














Comments