
टेक्सस, अमेरिका — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रवासी नेपालीहरुलाई नेपालको उच्च सम्भावनायुक्त क्षेत्र पर्यटन र ऊर्जामा लगानी गर्न आग्रह गरेका छन्। उनले नेपालका निजी क्षेत्रले लगानी सहज बनाउन पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।
टेक्ससको डालसमा हिमालय खबर अनलाइनले आयोजना गरेको ‘व्यापार तथा लगानी सम्मेलन २०२५’ मा प्रमुख वक्ताका रूपमा बोल्दै ढकालले नेपालबारे नकारात्मक धारणा बने पनि देशमा लगानीका अपार सम्भावना रहेको बताए।

“चुनौतिहरू छन्, तर नेपालको लगानी र व्यवसायिक वातावरण क्रमशः सुधारिँदै गएको छ,” ढकालले भने, “पर्यटन, जलविद्युत् र पूर्वाधारजस्ता क्षेत्रमा प्रवासी नेपालीहरूले नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बेला आएको छ।”
ढकालले पछिल्लो जेनजेड आन्दोलनका कारण उद्योगी व्यवसायीको मनोबल कमजोर भएको उल्लेख गर्दै, लगानीमैत्री वातावरण पुनःस्थापनाका लागि तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरे।
उनले लगानी सुरक्षाको ग्यारेन्टी, नीतिगत स्थिरता र सरकार–निजी क्षेत्रबीचको सहकार्य नै भित्री तथा बाह्य लगानी आकर्षित गर्ने मुख्य आधार रहेको बताए। ढकालले उद्योग वाणिज्य महासंघले सरकारले र प्रवासी समुदायसँग सहकार्य गर्दै नेपाललाई सुरक्षित र नाफामूलक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए।
“नेपालको निजी क्षेत्र सधैं लगानीकर्तासँग सहकार्य गर्न तयार छ। हामी प्रवासी नेपालीहरूलाई पनि देशको आर्थिक विकासमा लगानीमार्फत योगदान गर्नुस भन्न चाहन्छौं,” ढकालले जोड दिए।
सम्मेलनमा टेक्ससका विभिन्न स्थानबाट सहभागी भएका नेपाली मूलका व्यवसायीहरूले स्वदेशमा लगानी गर्न इच्छुक रहेको तर लगानीमैत्री र सुरक्षायुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका थिए।














Comments