काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी पुनर्गठन र सुदृढीकरणलाई केन्द्रमा राख्दै ६ बुँदे तत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पारित गरेको उक्त योजनामा वडादेखि केन्द्रसम्मका सबै कमिटीहरूमा युवा तथा ‘नव-युवा’ (जेनजी) को सहभागिता ५० प्रतिशत पुर्‍याउने निर्णय गरिएको छ ।

शनिबार प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न अनुभवी र प्रौढ नेताहरूसँगै युवाको समावेशिता अनिवार्य गरिएको छ । यस योजनालाई आगामी मंसिरको दोस्रो साता आयोजना हुने एकता राष्ट्रिय महाधिवेशनमार्फत पूर्णता दिने लक्ष्य राखिएको छ ।

पार्टीले राजनीतिक मात्र नभई साङ्गठनिक र सांस्कृतिक स्पष्टतासहित पुनर्गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ । कार्ययोजनामा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि देशभक्त शक्तिहरूबीच साझा समझदारी कायम गर्ने तथा सडक र सदन दुवै मोर्चाबाट प्रभावकारी भूमिका खेल्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठन तथा एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने योजना पनि अघि सारिएको छ । कार्यकर्तालाई उत्पादन र श्रमसँग जोड्ने अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिने पनि जनाइएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा वैचारिक तथा कूटनीतिक रूपमा पार्टीको भूमिका सुदृढ बनाउने र साङ्गठनिक समायोजनको काम जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित नेकपाले आफ्नो मार्गचित्र तय गरेको प्रवक्ता ज्वालाले बताएका छन् ।