काठमाडौँ। नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार उनले ३,१९६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई पराजित गरेका हुन्। रावलले २,९४० मत पाउँदा अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे।


निर्वाचन परिणामले संघको नेतृत्वमा डा. रिजालको प्यानलको स्पष्ट वर्चस्व देखिएको छ। वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहितका प्रमुख पदमा उनको समूहका उम्मेदवार विजयी भएका छन्।


वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी ३,०३६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २,३०२ र डा. अजयकुमार मिश्रले १,४२१ मत प्राप्त गरे।


महासचिवमा डा. विश्वराज दवाडी २,७२२ मतसहित विजयी हुँदा डा. कालुसिंह खत्रीले २,४२३ र डा. अमृत भुसालले १,६४६ मत पाए।कोषाध्यक्षमा डा. संयुक्त आचार्य ३,१८६ मतसहित निर्वाचित भए। उनकी प्रतिस्पर्धी डा. चाँदनी जैसवालले २,०९९ र डा. विनोदकुमार महासेठले ९७४ मत प्राप्त गरे।


१९ सदस्यीय कार्यसमितिमा पनि डा. रिजालकै समूहको बहुमत देखिएको छ। उनका तर्फबाट डा. राकेश साह, डा. सुस्मित काफ्ले र डा. बिना श्रेष्ठ सदस्यमा निर्वाचित भए। डा. रावल पक्षबाट डा. अमित झा र डा. पल्पसा श्रेष्ठ तथा टिम रिफर्मबाट डा. शेषराज घिमिरे सदस्य बनेका छन्।


प्रदेश तहमा पनि रिजाल प्यानलको प्रभाव देखिएको छ। कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उनका उम्मेदवार विजयी भएका छन् भने गण्डकी र कर्णालीमा रावल पक्षका उम्मेदवारले जित हात पारे।


समग्र परिणामले नेपाल चिकित्सक संघमा नयाँ नेतृत्वसहित नीति र प्राथमिकतामा परिवर्तनको संकेत दिएको विश्लेषण गरिएको छ।