काठमाडौं। स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालमा निजामती क्षेत्रको ट्रेड युनियन अधिकारमाथि भएको सरकारी हस्तक्षेप अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको प्रमुख चासोको विषय बनेको छ।

जुन १ देखि १२ सम्म सञ्चालन भइरहेको सम्मेलनमा १८७ देशका सरकार, रोजगारदाता तथा श्रमिक प्रतिनिधिसहित पाँच हजारभन्दा बढी सहभागी रहेका छन्।

सम्मेलनका क्रममा इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशन आईटीयूसी एसिया प्रशान्त क्षेत्रले नेपालमा निजामती क्षेत्रको ट्रेड युनियन खारेजी तथा श्रमिक अधिकारसम्बन्धी विषयमा विशेष छलफल कार्यक्रम आयोजना गरेको अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले जानकारी दिए।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसीसी का अध्यक्ष विनोद श्रेष्ठले नेपाल सरकारले निजामती क्षेत्रको ट्रेड युनियन खारेज गरेको, अध्यादेशमार्फत त्रिपक्षीय संरचनाबाट श्रमिक प्रतिनिधिलाई हटाएको तथा श्रमिक आन्दोलनलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाउँदै अवधारणापत्र प्रस्तुत गरेका थिए।

उक्त अवधारणापत्रमाथि इन्डोनेसिया, पाकिस्तान, श्रीलंका, इजरायल, जापान र मलेसियालगायत विभिन्न देशका प्रतिनिधिहरूले धारणा राख्दै ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य र श्रम अधिकारविपरीत भएको बताएका थिए। उनीहरूले नेपाली श्रमिक आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समर्थन निरन्तर रहने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा जिफन्टका पूर्वअध्यक्ष विष्णु रिमालले नेपालको वर्तमान राजनीतिक अवस्था र निजामती क्षेत्रका ट्रेड युनियनमाथि गरिएको व्यवहारबारे आफ्नो धारणा राखेका थिए।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले सम्मेलनकै क्रममा श्रममन्त्री रामजी यादवलाई भेट गरी युनियनको अवस्थाबारे जानकारी गराउनुका साथै ज्ञापनपत्र बुझाएको बताए। उनले नेपाली ट्रेड युनियनको पक्षमा ऐक्यबद्धता जनाउने अन्तर्राष्ट्रिय प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे।

त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव तथा इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन आईटीएफ का कार्यसमिति सदस्य अजयकुमार राईले आईटीएफका महासचिव स्टिफन कटनको सन्देश सुनाउँदै नेपाल सरकारको कदमप्रति गम्भीर चासो व्यक्त गरिएको जानकारी दिए।

उनले श्रमिक अधिकार र लोकतन्त्रको पक्षमा आईटीएफ नेपाली श्रमिकहरूको साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको समापनमा आईटीयूसी ब्रसेल्सका उपमहासचिव एरिक मान्जीले विश्वभरका करिब २० करोड श्रमिक आबद्ध आईटीयूसी नेपालका श्रमिक तथा ट्रेड युनियनहरूको पक्षमा रहेको उल्लेख गर्दै श्रमिक आन्दोलनले अन्ततः सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।