काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्न अस्वीकार गरेका छन्।

सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले प्रतिवेदनबारे कुनै निर्णय गर्न सकेन। बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय गर्न नसकेको एक पदाधिकारीले जानकारी दिए।

कार्यदलले आइतबार सचिवालयमा पेश गरेको प्रतिवेदन प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको प्रतिवेदनलाई परिमार्जन गरेर तयार गरिएको थियो। प्रतिवेदनमा पार्टीका तल्ला तहबाट प्राप्त सुझावलाई अनुसूचीका रूपमा समेट्ने विषयमा अध्यक्ष ओली असहमत रहेको बताइएको छ।

केही पदाधिकारीको आग्रहपछि ओली प्रतिवेदन बुझ्न भने तयार भएका थिए। त्यसपछि सोमबार पुनः सचिवालय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको थियो।

तर, सोमबार बिहान करिब १० बजे बसेको सचिवालय बैठकमा पनि प्रतिवेदनलाई केन्द्रीय कमिटीमा लैजाने विषयमा सहमति जुट्न सकेन। अध्यक्ष ओलीले प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गर्न तयार नभएपछि बैठक निष्कर्षविहीन बनेको हो।

एक पदाधिकारीका अनुसार सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन। उनका अनुसार केन्द्रीय कमिटी बैठकका लागि एजेन्डासमेत तय भएको छैन।

कार्यदलका सदस्यसमेत रहेका अर्का पदाधिकारीले पनि सचिवालय बैठकमा कुनै निर्णय नभएको बताए। उनका अनुसार अब अध्यक्ष ओलीले नै केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गरेर प्रस्तुत गर्ने सम्भावना छ।

एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सिखेलमा बस्दैछ। सचिवालय बैठक निष्कर्षविहीन भएपछि अध्यक्ष ओलीसहित सचिवालयका सदस्यहरू केन्द्रीय कमिटी बैठकस्थल पुगिसकेका छन्।