
काठमाडौं। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनले अहिले क्षणिक धक्का खाएको टिप्पणी गरेका छन्। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले आन्दोलन भित्र भएका कमजोरीहरूको वस्तुवादी समीक्षा आवश्यक रहेको उल्लेख गरे। “अहिले कम्युनिस्ट आन्दोलनले क्षणिक धक्का खाएकै छ, हामीले कहाँ कमजोरी भयो त्यसको समीक्षा गर्नैपर्छ, उनले भने यस्ता धक्का हामी भित्रका फोहोर मैला व्यवस्थापन गर्ने अवसर पनि हुन्।
उनले सत्तामा रहँदा पार्टीभित्र विकृति र कमजोरीहरू बढ्दै गएको स्वीकार गर्दै त्यसलाई सुधार्ने बेला आएको बताए। जनताले कम्युनिस्ट पार्टी प्रति घृणा नगरेको बरु “सफा भएर आउ” भन्ने सन्देश दिएको उनको भनाइ थियो।
प्रचण्डले पार्टीभित्र भएका गलत अभ्यास सुधार्दै पुनर्गठनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। उनले आगामी महाधिवेशनलाई लक्षित गर्दै नयाँ र गतिशील नेतृत्वलाई प्राथमिकता दिने तयारी भइरहेको जानकारी दिए।
पहिला पार्टीलाई पुनर्गठन गर्ने, महाधिवेशनमार्फत तलदेखि माथिसम्म नयाँ नेतृत्व ल्याउने र पुराना पुस्ताले पनि नयाँ भूमिकामा प्रस्तुत हुने विषयमा छलफल भइरहेको छ,” उनले भने।
महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको र सकेसम्म आगामी असोजसम्म आयोजना गर्ने तयारी भइरहेको उनले स्पष्ट पारे।















Comments