
काठमाडौं : अमेरिका र इरानबीच लामो समयदेखि जारी सैन्य तनाव अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) को मस्यौदामा सहमति जुटेको दाबी गरिएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष शान्ति प्रक्रियालाई अघि बढाउन तयार भएको जनाइएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि युद्ध अन्त्यका लागि समझदारी भएको पुष्टि गरेका छन्।
बीबीसी मनिटरिङका अनुसार इरानी अर्धसरकारी समाचार एजेन्सी मेहर र सरकारी समाचार संस्था आईआरएनएले सार्वजनिक गरेको १४ बुँदे मस्यौदामा युद्धविरामदेखि आणविक कार्यक्रमसम्मका विषय समेटिएका छन्।
केके छन सम्झौताका मुख्य बुँदामा?
१. इजरायल–हेजबुल्लाह (लेबनान) सहित सबै मोर्चामा युद्ध तत्काल अन्त्य गर्ने।
२. इरानविरुद्ध अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने।
३. विश्वको प्रमुख तेल आपूर्ति मार्ग होर्मुज स्ट्रेट ३० दिनभित्र पुनः सञ्चालनमा ल्याउने।
४. होर्मुज स्ट्रेटबाट अन्तर्राष्ट्रिय जहाजको निर्बाध आवतजावत सुनिश्चित गर्ने।
५. अमेरिकाले इरानमाथि लगाएका केही आर्थिक प्रतिबन्ध हटाउने।
६. विदेशमा रोकिएका इरानका सम्पत्ति र कोष फुकुवा गर्ने प्रक्रिया सुरु गर्ने।
७. इरानलाई चरणबद्ध रूपमा विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्ने।
८. ६० दिनसम्म सीमित वार्ता सञ्चालन गरी आणविक कार्यक्रम, प्रतिबन्ध र युद्धपछिको पुनर्निर्माणबारे छलफल गर्ने।
९. प्रारम्भिक समझदारीमा इरानले आफ्नो आणविक कार्यक्रममा कुनै नयाँ प्रतिबद्धता नजनाउने।
१०. युरेनियम संवर्धन गर्ने अधिकार इरानले कायम राख्ने अडान रहने।
११. समृद्ध युरेनियमको व्यवस्थापन र नष्ट गर्ने विधिबारे प्राविधिक वार्ता गर्ने।
१२. इरानले हेजबुल्लाहलगायत क्षेत्रीय प्रोक्सी समूहलाई आर्थिक सहयोग रोक्ने विषयमा छलफल गर्ने।
१३. इरानले आफ्नो प्रतिबद्धता कार्यान्वयन गरेपछि मात्र आर्थिक लाभ र प्रतिबन्धमा थप राहत दिने।
१४. अन्तिम स्वीकृतिपछि समझदारीपत्रमा इलेक्ट्रोनिक हस्ताक्षर गरी कार्यान्वयन प्रक्रिया सुरु गर्ने।
अमेरिकी अधिकारीहरूले सम्झौता विश्वासका आधारमा नभई कार्यान्वयनको आधारमा अघि बढाइने बताएका छन्। इरानले आफ्नो जिम्मेवारी पूरा गरेपछि मात्रै आर्थिक राहत र अन्य सुविधा उपलब्ध गराइने उनीहरूको भनाइ छ।
यद्यपि इजरायलले प्रस्तावित समझदारीमा आफू सहभागी नरहेको जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कुनै पनि अन्तिम सम्झौतामा इरानको समृद्ध युरेनियम हटाउने, संवर्धन केन्द्र नष्ट गर्ने, क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने तथा क्षेत्रीय सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य हुनुपर्ने अडान दोहोर्याएका छन्।
बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्तिमार्फत अमेरिका, इरान, पाकिस्तान, कतार तथा अन्य सम्बद्ध पक्षलाई कूटनीतिक सफलताका लागि बधाई दिँदै शान्ति प्रक्रियालाई समर्थन गरेका छन्।
यदि प्रस्तावित समझदारी कार्यान्वयनमा पुग्यो भने मध्यपूर्वमा जारी युद्धको अन्त्यतर्फ महत्वपूर्ण कदम मानिनेछ। साथै, होर्मुज स्ट्रेट पुनः सञ्चालनमा आएपछि विश्वव्यापी तेल तथा ग्यास आपूर्ति सहज हुने र अन्तर्राष्ट्रिय बजारमा परेको दबाब कम हुने अपेक्षा गरिएको छ।















Comments