
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हावाहुरी सुरु हुने समय र प्रभावित जिल्लाहरूको विवरण अद्यावधिक गरेको छ।
आज बिहान ८ बजे जारी विशेष बुलेटिनअनुसार तीव्र गतिको हावाहुरी आज अपराह्न ४ बजेदेखि सुरु हुने र भोलि बिहान ६:४५ बजेसम्म रहनेछ।
हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्लाहरू प्रभावित हुने सम्भावना छ। त्यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी आसपासका क्षेत्रमा पनि प्रभाव पर्ने देखिएको छ।
गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्लामा समेत हावाहुरीको असर पर्न सक्छ। यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङमा पनि तीव्र हावाहुरीको जोखिम रहेको विभागले जनाएको छ।
विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेछ, जसले देशका धेरै क्षेत्रमा प्रभाव पार्ने सम्भावना छ।
यसअघि विभागले हावाहुरी सुरु हुने समय साँझ ५:४५ बजे हुने जनाएको थियो भने पछिल्लो अद्यावधिकमा समय अगाडि सारिएको हो।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











Comments