काठमाडौं। इरानले आइतबार विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज स्ट्रेट अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी हस्तक्षेप जारी रहेसम्म जलमार्ग बन्द रहने चेतावनी दिएको हो।


आईआरजीसीका अनुसार समुद्री सुरक्षामा खतरा उत्पन्न गर्ने एक जहाजलाई नियन्त्रणमा लिइएको छ। साथै, केही जहाजले अनधिकृत रूपमा जलमार्ग प्रवेश गर्न खोज्दा चेतावनी बेवास्ता गरेको आरोप पनि लगाइएको छ।


यसैबीच, इरान र अमेरिकाबीच पछिल्ला दिनहरूमा तनाव पुनः बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता प्रभावहीन भएको दाबी गर्दै इरानले आफूविरुद्ध कुनै आक्रमण गरे कडा सैन्य जवाफ दिइने चेतावनी दिएका छन्।


उता, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना बुबा अयातोल्लाह अली खामेनीको हत्याको बदला कुनै पनि हालतमा लिइने बताएका छन्। उनको नाममा जारी लिखित सन्देशमा इजरायल र अमेरिकालाई जिम्मेवार ठहर गर्दै दोषीलाई कारबाही गरिने उल्लेख गरिएको छ।


मोज्तबा खामेनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। उनी आफ्ना बुबाको अन्त्येष्टिमा समेत सहभागी नभएको जनाइएको छ। उनको नाममा हालसम्म लिखित सन्देशहरू मात्र सार्वजनिक भइरहेका छन्।


हर्मुज स्ट्रेट बन्द गर्ने इरानको निर्णयले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा थप चिन्ता बढाएको छ।