
काठमाडौं। अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै मंगलबार लगातार चौथो दिन विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ। साथै इरानी बन्दरगाहतर्फ आउनेजाने जहाजहरू रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन–तेहरानबीचको तनाव थप चुलिएको छ।
इरानले अमेरिकी कदमले युद्धविराम र शान्ति वार्ताका लागि भएको सहमति समाप्त भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए अर्को सातादेखि विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी रहने बताए।
यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजबाट २० प्रतिशत शुल्क लिने घोषणा गरेका ट्रम्पले उक्त निर्णय २४ घण्टामै फिर्ता लिएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ। सेन्टकमका अनुसार गत साताभित्र इरानले सात व्यापारिक जहाजमा आक्रमण गर्दा करिब १२ चालकदल सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन्।
सेन्टकम प्रमुख एडमिरल ब्राड कुपरले निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधि नगर्न इरानलाई चेतावनी दिएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, हर्मुज नजिकको केसम टापु तथा अन्य स्थानमा विस्फोट भएका छन्। स्थानीय अधिकारीहरूले अमेरिकाको आक्रमण बुसेहर प्रान्त, इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र तथा इराक–कुवेत सीमावर्ती क्षेत्रमा केन्द्रित रहेको बताएका छन्।
इरानको सरकारी समाचार एजेन्सी इरनाले त्यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ। रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी सैन्य सुविधा र आवासीय संरचनामाथि मिसाइल तथा ड्रोन प्रहार गरिएको दाबी पनि गरेको छ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाले नाकाबन्दी पुनः लागू गरेपछि द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौता अब समाप्त भएको बताएका छन्।
अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हर्मुज जलघाँटीमा भएका दुई जहाज आक्रमणमा चालकदलका दुई सदस्यको मृत्यु भएको छ। ओमानको तटनजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्यांकरमा क्षति पुगेको एमटीआई नेटवर्कले जनाएको छ।
यस्तै, कुवेतले इरानी मिसाइल र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ।
ट्रम्पले हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि शुल्क लगाउने योजना फिर्ता लिई खाडी क्षेत्रका साझेदार राष्ट्रसँग व्यापार तथा लगानी सम्झौता गर्ने निर्णय गरिएको बताएका छन्। उनका अनुसार ती सम्झौतामार्फत अमेरिकी अर्थतन्त्रमा थप लगानी भित्र्याइनेछ।
इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले संकलन गरेको तथ्यांकअनुसार गत सातादेखि जारी अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ।
क्षेत्रीय तनाव बढ्दै जाँदा बहराइनले इरानबाट प्रहार गरिएका अधिकांश हवाई आक्रमण निष्क्रिय बनाएको दाबी गरेको छ भने जोर्डनले पनि चारवटा इरानी क्षेप्यास्त्र खसालेको जनाएको छ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले इजरायलमाथि आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिएका छन्। दक्षिणी सहर डिमोनाबाट सम्बोधन गर्दै उनले इजरायलमाथि हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने र विगतजस्तो मौन नबस्ने बताएका छन्।













Comments