
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहसंयोजक माधवकुमार नेपालसँग उहाँकै निवास कोटेश्वर पुगेर भेटवार्ता गर्नुभएको।
केही दिनदेखि अस्वस्थ रहनुभएका सहसंयोजक नेपाललाई भेट्न संयोजक प्रचण्ड बिहान करिब ९ बजे कोटेश्वर पुग्नुभएको हो। भेटमा प्रचण्डले नेपालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देशको पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणबारे गहन छलफल गर्नुभएको छ।
श्रीलंका भ्रमणबाट फर्किएलगत्तै प्रचण्ड नयाँ राजनीतिक योजना र सत्ता समीकरणको गृहकार्यमा तीव्र रूपमा जुट्नुभएको हो। प्रचण्ड श्रीलंकामा रहेकै समयमा सहसंयोजक नेपालले नेताहरू वर्षमान पुन र प्रमेश हमाललाई नयाँ समीकरणका लागि संवाद गर्ने जिम्मेवारी दिनुभएको थियो। सोही क्रममा उहाँहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गर्नुभएको थियो भने नेपाली कांग्रेसका सभापति गगन थापासँग भने त्यस्तो छलफल हुन सकेको थिएन।
प्रचण्ड फर्किएलगत्तै पुन र हमालले विकसित घटनाक्रमबारे जानकारी गराउनुभएको थियो। सोही जानकारीका आधारमा आज बिहान सहसंयोजक नेपाललाई भेटेपछि प्रचण्डले प्रमेश हमाल, वर्षमान पुन, बेदुराम भुसाललगायतका नेताहरूसँग गठबन्धनबारे टुङ्गो लगाउनुपर्ने विषयमा थप परामर्श गर्नुभएको थियो।
एमालेसँग सहकार्य गर्ने निष्कर्ष
नेकपा स्रोतका अनुसार संयोजक प्रचण्ड र सहसंयोजक नेपाल दुवै जना अब नेकपा एमालेसँगको सहकार्यलाई अगाडि बढाउने निष्कर्षमा पुग्नुभएको छ। पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरूले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा समेत कम्युनिष्ट शक्तिहरू एक भएर जाने वातावरण बनाउन नेतृत्वलाई दबाब दिँदै आएका छन्।
प्रदेशमा तीनदलीय गठबन्धन बनाउन नेकपा र एमाले तयार भए पनि कांग्रेसले दुईदलीय अडान नछाडेपछि कांग्रेससँगको संवाद पातलिँदै गएको थियो। एमाले–कांग्रेस गठबन्धन अघोषित रूपमा टुटिसकेको अवस्थामा दुवै दलका नेता-कार्यकर्ता कम्युनिष्ट आन्दोलन जोगाउन एमाले-नेकपा गठबन्धनको पक्षमा उभिएका हुन्।
शीर्ष नेताहरूबाट सकारात्मक सङ्केत पाएपछि प्रचण्ड आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने तयारीमा जुट्नुभएको छ।
”संयोजक कमरेडले सहसंयोजक कमरेडलाई घरमै पुगेर भेटेर सबै विषयमा कुराकानी गर्नुभएको छ। आज एमाले अध्यक्षलाई पनि भेटेर निर्णायक कुरा गर्ने उहाँको तयारी छ, छिट्टै सबै विषयको टुंगो लाग्छ,” प्रचण्डनिकट उच्च स्रोतले भन्यो।
You must be logged in to post a comment.