
साउनको पहिलो साता नेपाली राजनीतिले प्रजातन्त्रवादी नेता बीपी कोइराला (सान्दाइ) र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ (माल्दाइ)लाई सम्झन्छ । एकाध कर्मकाण्डी गोष्ठी र बिरुवा रोपेर यी दुई राजनीतिक हस्तीहरुलाई सम्झिइने गरिएको छ।
‘दलाल पुष्पलाल’
बाँचुन्जेल त माल्दाइले गद्दार, संशोधनवादी र ’नेपाली कांग्रेसको दलाल’को पगरी भिरे । मरेपछि भने ’माल्दाइको योगदानको उच्च मूल्यांकन गर्दै’ उनलाई महान् बनाउने कोसिस भयो, तर माल्दाइबाट नेपाली कम्युनिस्ट आन्दोलनले के फाइदा र शिक्षा लिने भन्नेबारे समीक्षा हुन सकेको छैन । माल्दाइले उतिखेरै राखेका विचार र दृष्टिकोणलाई बेलाबेला हँसिया हतौडाको झन्डा बोक्नेहरुले जीवनमा भने विरलै अपनाएका छन्।
पुष्पलाललाई गद्दार करार गर्न राजनीतिक साहित्य मात्र लेखिएन ।
उनको व्यक्तिगत जीवनका नित्तान्त व्यक्तिगत कुरालाई पनि गद्दार बनाउने सूत्रको रुपमा लिइयो। कतिसम्म भने कम्युनिस्ट कार्यकर्ताहरुलाई पुष्पलाल विरोधी ‘काँठे’ भाकाको गीत गाउन उर्दीसमेत लगाइएको थियो तत्कालीन समयमा। पुष्पलालको हुर्मत लिन खोजिएको थियो गीतमार्फत । गीतको मुखडा यस्तो थियो।
गद्दार पुष्पलाल,
नेपाली कांग्रेसको
नं एक दलाल।
गद्दार र सरदार
कम्युनिस्ट आन्दोलनमा कसैलाई गद्दारको पगरी थमाउने र सरदार बनाउने कुरो नौलो होइन। विश्व कम्युनिस्ट आन्दोलनकै प्रतिलिपि उतार गरेर यस्ता पगरी ओढाउने चलन नेपालमा पनि थिति बसाइयो। ट्राटस्कीदेखि वाङमिङ, लिउ साउची र लिन पियाओसम्म आइपुग्दा विश्व कम्युनिस्ट आन्दोलनका गद्दारहरुको लामै फेहरिस्त हुन्छ। नेपालमा पनि त्यही सूत्रको गलत प्रयोग माल्दाइमाथि भयो र बाचुन्जेल उनी गद्दार भए। मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ पुस्तक लेखे। रोहितले ‘खोटा विचारको खण्डन’ पुस्तकमार्फत पुष्पलालको हुर्मत लिए।
नेपालका तत्कालीन प्रायः सबै वाम घटकले माल्दाइको विरोध गर्न कुनै कसर बाँकी राखेनन् । तर मृत्युपछि रातारात माल्दाइ कम्युनिस्ट आन्दोलनका होनाहार ‘सरदार’मा पुनः स्थापित भए। गद्दार र सरदार बनाउने यो खेल अझै सकिएको छैन। विश्व कम्युनिस्ट आन्दोलनका कुनै बेलाका ‘गद्दार’ लिउ साउ ची, तेङ सियाओ पिङ पनि कालान्तरमा ‘सरदार’ ठहर गरिए । संयुक्त जनआन्दोलनका योजनाकार, कम्युनिस्ट पार्टीका संस्थापक माल्दाइको गद्दारी र सरदारीको यो कथा यहीँ टुंगिदैन।
‘माइला, मैले बालेको प्रजातन्त्रको दियो तैँले प्रज्वलित गर्नेछस्।’ शहीद गंगालालले आफ्ना भाइ पुष्पलाललाई भनेको यही वाक्य नै माल्दाइको राजनीतिक यात्राको पहिलो पाइला थिय । विसं १९९८ ताका नेपाली प्रजातान्त्रिक संघबाट सुरु भएको माल्दाइको राजनीतिक यात्रा नेपाली राष्ट्रिय कांग्रेस हुँदै २००६ सालमा कम्युनिस्ट पार्टी गठन गरेपछि उनको वैचारिक यात्राले नयाँ घुम्ती पायो। विसं २०१६ सालमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सोभियत संघ र चीनको भ्रमण गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई माल्दाइले विश्व कम्युनिस्ट आन्दोलनको हिस्सा बनाए। कम्युनिस्ट पार्टीको घोषणा पत्र नेपालीमा अनुवाद गरेर उनले माक्र्सवादी राजनीतिक साहित्यको नेपालमा प्रवेश गराए ।
पहिलो प्रहार
नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो प्रहार विसं २००८ सालमा माल्दाइलाई महासचिवबाट बलात हटाएर सुरु गरिएको थियो। दुई वर्ष नबित्दै संस्थापक महासचिवलाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाइयो। अधिकारी चीन गएका बेला केशरजंग रायमाझी कार्यवाहक महासचिव बने । यही सांगठानिक संरचना नै कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने प्रस्थान बिन्दु थियो।
कम्युनिस्ट आन्दोलनको विचलन र विखण्डनको जग यहीँनेर आएर हालिएको हो। दुई वर्ष नबित्दै पुष्पलाललाई हटाउनु पर्ने, महाधिवेशनसम्म पर्खनु नपर्ने नौबत किन आयो ? माल्दाइले त्यस्तो के अपराध गरेका थिए ? आज पनि यी प्रश्न अनुत्तरित छन्। उत्तर दिनुपर्ने कमरेडहरु हामीमाझ छन् तर ती आफै अनुत्तरित छन ।
यति मात्र होइन, कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरु को को हुन् भन्नेमा पनि विवाद छ। कम्युनिस्ट पार्टीको स्थापना पनि २२ अप्रिल र १५ सेप्टेम्बर १९४९ मा विवाद छ । कम्युनिस्ट आन्दोलनको यतिका वर्ष पछिसम्म यति सामान्य कुराको खुटखबर छैन। यसपछि दरभंगा प्लेनम, गोरखपुर सम्मेलनको वरिपरि विघटित संसद्को पुनस्र्थापना, राष्ट्रिय प्रजातन्त्र र संविधानसभाको कार्यनीतिको गोल चक्करमा रह्यो कम्युनिस्ट आन्दोलन ।
चौथो महाधिवेशन गरेर माल्दाइले गोरखपुरबाट पार्टी संगठन अलग गरे। उनी बाहेककाले अलग्गै संगठन निर्माण गर्दै गए। यसरी तेस्रो महाधिवेशनबाट वयस्क नहुँदै कम्युनिस्ट आन्दोलन पक्षघातको शीकार भयो । माल्दाइ नेतृत्वको पार्टीबाट विद्रोह हुँदै गयो। उनी सानो समूहको नेतामा खुम्चिँदै गए।
उनको मृत्युपछि उनको समूह र मनमोहन नेतृत्वको पूर्वकोशी प्रान्तीय कमिटीले नेकपा माक्र्सवादी बनाए। पहिलो जनआन्दोलनपछि यो पार्टी मालेमा विलय भयो र एमाले बन्यो । यसअघि नै पूर्वकोशी प्रान्तीय कमिटीबाट विद्रोह गर्दै झापा विद्रोह भयो। कोअर्डिनेसन केन्द्र बन्यो। झापा विद्रोहको जगमा पुष्पलाल समूहबाट फुटेका मुक्ति मोर्चासहित पूर्वको रातो झन्डा आदि समूह मिलेर ०३५ सालमा नेकपा (माले)को गठन भएको थियो । यता मोहनविक्रम सिंह नेतृत्वको समूहले चौथो महाधिवेशन समूह बनाए। यो समूह पनि विभिन्न कालखण्डमा फुट्दै जुट्दै रहे।
फुटेकाहरू चौम, मोटो मशाल, पातलो मसालको नामले चिनिए। चौम र मालेले पञ्चायतको उपयोग भण्डाफोरको नाममा राजनीति गरे। २०४६ सालको पहिलो जनआन्दोलनको सफलतापछि मोटो मशालले नेकपा एकता केन्द्र बनाउँदै नेकपा (माओवादी) पार्टी गठन गरेर ०५२ देखि १० वर्षे गृह युद्ध सञ्चालन ग¥यो। जनयुद्धको जगमा १२ बुँदे सम्झौता हुँदै दोस्रो जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। तीनवटा आवधिक निर्वाचनमार्फत संघीय गणतन्त्रको अभ्यास पनि भइसकेको छ।
विसं ०८२ को भदौमा भएको जेनजी विद्रोहपछि भिन्न संसदीय समिकरण बनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर पुराना दल संसदीय गणितमा कमजोर भैसके। संघीय गणतन्त्रको संस्थागत विकास अझै टुङ्गोमा पुगेको छैन । यता कम्युनिस्ट आन्दोलनको भविष्य अब कस्तो हुन्छ, यो प्रश्न फेरि पनि अनुत्तरित छ। पुष्पलालले भनेको पार्टी ‘नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ’ भन्ने कुरा यहिँनेर आएर सत्य सावित भएको छ । अबको कम्युनिस्ट आन्दोलनको दिशा यहिँबाट तय हुनेछ।
माल्दाइको सम्झना
नेपालका नेताहरुका नाममा प्रतिष्ठान, अस्पताल÷राजमार्गहरू खोलिएका छन्, नामकरण गरिएका छन्। असंख्य नेताका नाममा सार्वजनिक सरोकारका क्षेत्रहरू व्यापक संख्यामा नामाङ्कित भएका छन् सालिक, पार्क र उद्यान निर्माण भएका छन्। यसै क्रममा साम्यवादी आन्दोलनका धरोहर माल्दाइ भने तुलनात्मकरुपमा कञ्जुस्याँइमै परेका छन् ।
पूर्वपश्चिम लोकमार्गलाई पुष्पलाल लोकमार्ग उनको नाममा राखिएको छ । प्रचण्ड–बाबुराम सरकारको पालामा पहिलो पटक पुष्पलालको नाममा यो लोकमार्गको नामकरण भएको थियो। नत्र त संयोगले वा प्रजातन्त्रवादीको उदारताले हो, कांग्रेस नेतृत्वको सरकारले पुष्पलालसम्बद्ध प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउनेदेखि अन्य काम पुष्पलालको नाममा गरेको देखिन्छ । शेरबहादुर देउपा प्रधानमन्त्री हुँदा कीर्तिपुरको चम्पादेवीमा १२५ रोपनी जग्गा पुष्पलाल प्रतिष्ठान (पुष्पलाल स्मृति पार्क)लाई दिएको हो।
यसैगरी पुष्पलाल अंकित हुलाक टिकट देउवाकै पालामा जारी भय । पुष्पलालको नाममा काठमाडौँको चाबहिलमा एउटा निजी कलेज छ । बरु गणेश पण्डितले नुवाकोटमा एउटा प्राथमिक स्कुल खोलेर पुष्पलालको सम्मान गरे । अहिले त पण्डित पनि बितिसके । धन्न पुष्पलालका नाममा व्यापारिक प्रतिष्ठानरुपी अस्पताल र स्कुल कलेज धेरै छैनन् । यो कुरालाई चाहिँ गनिमत नै मान्नुपर्छ । उनको नामको प्रतिष्ठान भए पनि त्यसको नाममा माल्दाइको नाम दुरुपयोग भएको अहिलेसम्म सुनिएको छैन।
नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, संयुक्त जनआन्दोलनका परियोजनाकार, संस्थापक महासचिव हामीबीच नरहेको चार दशक बढी बितिसकेको छ। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका माल्दाइको निधन २०३५ साउन ७ गते भएको थियो।
जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोहसहित अनेक विद्रोहमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थापना भएको छ। माल्दाइको संयुक्त जनआन्दोलनको कार्यदिशाले स्थापित गरेको मूल्य बचाउन सके मात्र माल्दाइलाई सम्झिनु अर्थपूर्ण हुनेछ। निमुखा नेपालीको पक्षमा पार्टी, विचार आन्दोलन निर्माण गरेका नेपाली कम्युनिस्ट आन्दोलनका अग्ला माल्दाइलाई लालसलाम।











Comments