
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखाहरूले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविपरीतका गतिविधि बढाएको आरोप लगाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा महासंघले आम निर्वाचनपछि गठन भएको सरकारबाट सञ्चार क्षेत्रले अपेक्षा गरेका नीति तथा कानुन कार्यान्वयन हुन नसकेको मात्र नभई प्रेस स्वतन्त्रतालाई सीमित गर्ने खालका गतिविधि बढ्दै गएको उल्लेख गरेको छ।
महासंघका अनुसार सरकारी नीति र व्यवहारका कारण नेपाली सञ्चार क्षेत्र अहिले “डरलाग्दो स्वनियन्त्रण” को अवस्थाबाट गुज्रिरहेको छ। सञ्चारगृह लक्षित सरकारी गतिविधिले सञ्चार क्षेत्रको सुरक्षा र स्वतन्त्र अभ्यासमा थप असहज अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले संविधानको मर्मअनुसार पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चार माध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापनको समयानुकूल परिमार्जन, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारको बीमा तथा सामाजिक सुरक्षा लगायतका मागप्रति सरकार उदासीन रहेको भन्दै असन्तुष्टि जनाएको छ।
सरकारी विज्ञापनमा निजी सञ्चार माध्यममाथि लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट खारेज भएको निर्णयलाई स्वागत गर्दै महासंघले त्यसको प्रभावकारी कार्यान्वयनप्रति भने अझै शंका रहेको जनाएको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षणका पक्षमा सरकारले अपनाएका प्रतिकूल नीति तत्काल फिर्ता लिन माग गरेको छ। साथै, संवैधानिक व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ।
यसैबीच, प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रका माग र नागरिक अधिकारको पक्षमा २०८३ साउन ९ गते शनिबार काठमाडौंको माइतीघर मण्डलामा वृहत् विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरिएको महासंघले जनाएको छ। उक्त प्रदर्शनमा सञ्चारकर्मी, नागरिक अधिकारका पक्षधर तथा सरोकारवाला सबैलाई सहभागी हुन अपिल गरिएको छ।
संयुक्त विज्ञप्तिमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कार्यवाहक अध्यक्ष रोजिना थापा (कार्की) तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखाका अध्यक्षहरू शोभा अर्याल, रामहरि कार्की र सुन्दर सिल्पकार ले हस्ताक्षर गरेका छन्।












Comments