
काठमाडौं। गजामा दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे योजनालाई इसराइलले अस्वीकार गरेको छ।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा इसराइल उक्त प्रस्ताव स्वीकार गर्न तयार नरहेको बताएका हुन्। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार नेतन्याहूले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इसराइली सेना गजाबाट फिर्ता नहुने स्पष्ट पारे।
‘हमास वास्तवमै निःशस्त्र नभएसम्म हाम्रा सेना कुनै हालतमा फिर्ता हुने छैनन्,’ नेतन्याहूले भने।
ट्रम्पले गत जुलाई ३१ मा आफ्नो ‘बोर्ड अफ पिस’मार्फत गजामा दीर्घकालीन शान्ति कायम गर्ने उद्देश्यसहित १५ बुँदे रोडम्याप सार्वजनिक गरेका थिए। योजनामा हमासलगायत गजाका सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्ने र त्यससँगै इसराइली सेनालाई चरणबद्ध रूपमा पछाडि हटाउने प्रस्ताव गरिएको थियो।
यसअघि अमेरिका, कतार, टर्की र इजिप्टको मध्यस्थतामा हमाससँग गजाको भविष्यबारे सहमतिको प्रयास भएको थियो। प्रस्तावअनुसार गजामा प्यालेस्टिनी प्रशासन कायम गर्ने र हमासलाई निःशस्त्र बनाउने विषयमा सहमति बने पनि हमासले इसराइली सेना गजाबाट हट्नुपर्ने सर्त राखेको थियो।
तर नेतन्याहूले इसराइलले गजाबाट सेना हटाउने विषयमा हमासको पूर्ण निःशस्त्रीकरणलाई अनिवार्य सर्त बनाएका छन्। उनले आफूहरू अमेरिकासँग अझै वार्तामा रहेको र प्रस्तावका केही विषय स्वीकार्य भए पनि केही विषयमा असहमति रहेको बताए।
नेतन्याहूले गजासँगै पश्चिम किनारमा समेत प्यालेस्टिनी राज्य स्थापना गर्न नदिने आफ्नो अडान दोहोर्याएका छन्। ‘म प्रधानमन्त्री रहुन्जेल प्यालेस्टिनी राज्य स्थापना हुनेछैन—न गजामा, न पश्चिम किनारमा,’ उनले भने।
यता हमासले भने ट्रम्पको रोडम्यापप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ। हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले मध्यस्थकर्ता र अमेरिकाले नेतन्याहू सरकारलाई प्रस्तावअनुसार अघि बढ्न दबाब दिनुपर्ने बताएका छन्।
हमासले यसअघि इसराइलले गजामा आक्रमण रोक्नुपर्ने र अक्टोबरमा भएको युद्धविराम सम्झौताले निर्धारण गरेको ‘यलो लाइन’ सम्म आफ्ना सेना पछाडि हटाउनुपर्ने माग गर्दै आएको थियो।
गजामा लामो समयदेखि जारी युद्धका कारण ठूलो जनधनको क्षति भएको छ भने क्षेत्रको ठूलो हिस्सा ध्वस्त भएको छ। इसराइली सेनाले गजाको आधाभन्दा बढी भूभाग नियन्त्रणमा राखेको बताइएको छ।
नेतन्याहूको पछिल्लो अडानले ट्रम्प र इसराइली प्रधानमन्त्रीबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुनसक्ने संकेत देखिएको छ। पछिल्लो समय लेबनन, इरानसँगको युद्ध र युद्धविरामलगायत विषयमा दुई नेताबीच मतभेद बढ्दै गएको बताइएको छ। साथै, इसराइलमा आगामी निर्वाचनलाई लक्षित गर्दै नेतन्याहूको दक्षिणपन्थी गठबन्धनमाथि आन्तरिक राजनीतिक दबाबसमेत बढिरहेको छ।














Comments