ललितपुर । नेपाल बालसाहित्य समाज (नेबासास)ले १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा विभिन्न अग्रज तथा अनुज स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साथै, कार्यक्रममा १० वटा बालसाहित्यसम्बन्धी कृतिको लोकार्पण गरिएको छ ।


आइतबार ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयमा आयोजित कार्यक्रममा नेबासासले नेपाली बालसाहित्यका इतिहासकार तथा समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानलाई नेबासास जयपृथ्वीबहादुर सम्मान प्रदान गरेको हो ।
त्यस्तै, प्रा. डा. चूडामणि बन्धुलाई नेबासास तेजप्रतिभा बालनियात्रा/लोकवार्ता पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नेबासास मुकेश जनक बालविज्ञान पुरस्कार, प्रभात सापकोटालाई नेबासास चूडा–चरण बालजीवनी पुरस्कार, डा. जयन्ती रुपाखेतीलाई नेबासास ध्रुव–सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र अमेरिकामा रहेका आभास अर्याललाई नेबासास विमला–मोहन प्रवासी बालस्रष्टा पुरस्कार प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।


यसैगरी, आयन्स जवालीलाई नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार र अमृत विकलाई नेबासास जयपृथ्वीबहादुर बालकला पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ५ हजार रुपैयाँ रहेको छ ।
१० बालकृति लोकार्पण
कार्यक्रममा विभिन्न स्रष्टाका १० वटा बालसाहित्यसम्बन्धी कृतिको समेत लोकार्पण गरिएको छ ।
नेबासासका महासचिव डा. विष्णु केसीको सम्पादनमा तयार ‘बालसाहित्यका विधा : सिद्धान्त र परम्परा’ तथा केसीकै लेखनमा रहेका ‘कमिलाको बानी’, ‘इन्द्रेणी’ र ‘चन्द्रबहादुर’ गरी चार कृति लोकार्पण गरिए ।
त्यस्तै, नेबासासका अध्यक्ष विजयराज आचार्यको उपन्यास ‘हितुवा’ र उनको अनुवादमा तयार चिनियाँ बालउपन्यास ‘जादुको छडी’, कृष्ण बजगाईंका ‘स्यालको सिङ’ र ‘आँखा झिम्काउने पहाड’, रबिन्द्र मानन्धरको लेखन तथा चित्रांकन रहेको ‘मन्त्रपुरकी माया’ र उर्मिला ढुंगाना सुवेदीको ‘हजुरआमाको भान्छा कोठा’ पनि लोकार्पण गरियो ।
सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत स्रष्टा र लोकार्पण गरिएका कृतिमाथि सर्जक शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रोल्पाबाट आएका बालगायक तथा पुरस्कृत स्रष्टा अमृत विक रहेका थिए । विशेष अतिथिमा अग्रज बालसाहित्य सर्जक एवं नेबासासका संस्थापक तथा संरक्षक रामकुमार पाँडे थिए ।
नेबासासका महासचिव विष्णु केसीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष विजयराज आचार्यले सभापतित्व गरेका थिए । कार्यक्रम नेपाल बालसाहित्य समाज, पाटन सङ्ग्रहालय र सिविन नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।