
काठमाडौं। हाल उत्पन्न विपद्जन्य परिस्थितिलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले प्रदेशका स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। सामाजिक सञ्जाल फेसबुकबाट बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले प्रदेशका सम्पूर्ण प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाहरूलाई Rapid Response Team (RRT) तथा Emergency Medical Team (EMT) लाई पूर्ण तयारी अवस्थामा राख्न आग्रह गरेकी छन्।
सम्भावित आकस्मिक अवस्थाको प्रतिकार्यका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री तथा उपकरणको पर्याप्त व्यवस्था गर्न स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरिएको छ। साथै, उद्धार तथा आकस्मिक व्यवस्थापनका लागि आवश्यक तयारीसमेत सुनिश्चित गर्न भनिएको छ।
सचिव गौतमले सम्बन्धित कार्यालय प्रमुखहरूलाई आफ्नो कार्यालय तथा मातहतका स्वास्थ्यकर्मी र कर्मचारीलाई ‘हाई अलर्ट’मा राख्न निर्देशन दिएकी छन्। विपद्का क्रममा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक समन्वय, सूचना आदान–प्रदान तथा आकस्मिक व्यवस्थापनमा विशेष ध्यान दिनसमेत उनले आग्रह गरेकी छन्।
सम्भावित विपद्का कारण स्वास्थ्य सेवामा पर्न सक्ने असरलाई न्यूनीकरण गर्दै आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य सचिव गौतमको भनाइ छ।















Comments