काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो तौललाई लिएर चिकित्सकहरूले स्वास्थ्यसम्बन्धी नयाँ चिन्ता व्यक्त गरेका छन्। यसअघि हातमा निलडाम देखिनु, खुट्टा सुनिनु तथा सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयलाई लिएर पनि उनको स्वास्थ्यबारे प्रश्न उठ्दै आएको थियो।

अमेरिकी अखबार द वासिङ्टन पोस्टका अनुसार पछिल्ला वर्षहरूमा ट्रम्पको तौल उल्लेख्य रूपमा बढेको छ। चिकित्सकहरूले बढ्दो तौललाई स्वास्थ्य जोखिमको संकेतका रूपमा हेरेका छन्।

ह्वाइट हाउसले गत मेमा सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनमा ट्रम्पको तौल १०८ किलो उल्लेख गरिएको थियो। सन् २०२३ मा जर्जियामा निर्वाचन हस्तक्षेपसम्बन्धी मुद्दामा पक्राउ पर्दा उनको तौल करिब ९७.५ किलो रेकर्ड गरिएको थियो। यस आधारमा तीन वर्षको अवधिमा उनको तौल करिब १०.५ किलो बढेको देखिन्छ।

ट्रम्पको उचाइ ६ फिट ३ इन्च अर्थात् करिब १.९१ मिटर छ। १०८ किलो तौलका आधारमा उनको बीएमआई मोटोपनाको सीमासँग नजिक रहेको चिकित्सकहरूले बताएका छन्। सन् २०१९ मा उनको तौल करिब ११० किलो र २०२० मा १११ किलो रहेको विवरण सार्वजनिक भएको थियो।

चिकित्सकहरूले ट्रम्पलाई तौल घटाउन, खानपान सुधार गर्न र नियमित शारीरिक गतिविधि बढाउन सुझाव दिएका छन्। जर्ज वासिङ्टन विश्वविद्यालयका चिकित्सक तथा नेसनल सेन्टर फर वेट एन्ड वेलनेसका निर्देशक स्कट काहानले मोटोपना समयअगावै अशक्तता र मृत्युको जोखिम बढाउने प्रमुख कारकमध्ये एक भएको बताएका छन्।

ट्रम्प फास्ट फुडप्रति रुचि राख्ने र नियमित व्यायाममा खासै सक्रिय नरहेको बताइन्छ। यद्यपि उनी गल्फ खेल्ने गर्छन् र लामो समयसम्म बैठक तथा सार्वजनिक कार्यक्रममा व्यस्त रहने गरेका छन्।

ट्रम्पका पूर्वचिकित्सक रोनी ज्याक्सनले सन् २०१८ मा उनको तौल करिब १०८.४ किलो रहेको बताएका थिए। उनले ट्रम्पले वार्षिक करिब ४.५ देखि ७ किलोसम्म तौल घटाउनु स्वास्थ्यका लागि लाभदायक हुने बताएका थिए।

यसअघि ट्रम्पले आफूले तौल घटाउन चाहेको बताएका थिए। तर पहिलो कार्यकालमा उनको तौल घट्नुको सट्टा बढेको थियो। सन् २०२३ मा भने उनको चुनावी अभियानले खानपान सुधार र दैनिक शारीरिक गतिविधिका कारण तौल घटेको दाबी गरेको थियो।

हालै तौल घटाउने औषधि रिटाट्रुटाइडसम्बन्धी रिपोर्टपछि ट्रम्पले उक्त औषधि प्रयोग गरेको हुनसक्ने चर्चा पनि चलेको थियो। तर ह्वाइट हाउसले त्यसलाई अस्वीकार गरेको छ। ट्रम्पले पनि आफूले कहिल्यै तौल घटाउने औषधि नलिएको बताएका छन्।

चिकित्सकहरूले भने उमेर बढ्दै जाँदा स्वास्थ्य मूल्यांकनका लागि तौल वा बीएमआई मात्र पर्याप्त नहुने बताएका छन्। शरीरमा बोसोको मात्रा, विशेषगरी पेट वरिपरिको बोसो, शारीरिक क्षमता र समग्र स्वास्थ्य पनि महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।

ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्यबारे उठेका प्रश्नको प्रत्यक्ष जवाफ दिनुको सट्टा उनको ऊर्जा र काम गर्ने क्षमताको प्रशंसा गरेको छ। प्रवक्ता डेभिस इन्गलले ट्रम्प असाधारण ऊर्जा र निरन्तर कार्यक्षमताका साथ काम गरिरहेको बताएका छन्।

ट्रम्पले यसअघि आफ्नो तौलका विषयमा ठट्टासमेत गर्दै आफू अमेरिकी इतिहासकै सबैभन्दा भारी राष्ट्रपति बन्न नचाहेको बताएका थिए।