Tag: रेड भ्वाईस नेपाल

  • सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति


    काठमाडौँ। वीर अस्पतालमा विगत एक सातादेखि विभिन्न माग राख्दै आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो सत्याग्रह अन्त्य गरेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रानाभाट नेतृत्वको टोलीबीच पटक–पटक भएको वार्तापछि सहमति जुटेको हो।


    सहमतिले नर्सिङ क्षेत्रको संरचनागत सुधार, सेवा–सुविधा, कार्य वातावरण तथा पेशागत विकाससँग सम्बन्धित दीर्घकालीन र तत्काल कार्यान्वयन गर्नुपर्ने विषयहरूलाई समेटेको छ।


    सहमति अनुसार ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड–२०७७’ बमोजिम नर्स–बिरामी अनुपात प्रभावकारी रूपमा लागू गरिनेछ। त्यसका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण गरी आवश्यक दरबन्दी सिर्जना गर्ने, करार सेवामा निर्भरता घटाउँदै स्थायी पदपूर्ति प्रक्रिया अघि बढाउने र नर्सिङतर्फ नवौं, दशौं तथा एघारौं तहका दरबन्दी सुनिश्चित गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।


    यस्तै, सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा–सुविधा निर्धारण गर्न सात दिनभित्र कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले छ महिनाभित्र प्रतिवेदन बुझाउनेछ। साथै, सेवा प्रकृति र जोखिमका आधारमा नर्सहरूलाई कम्तीमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने कानुनी व्यवस्था गर्ने सहमति भएको छ।


    कार्यभार व्यवस्थापन र सेवाको गुणस्तर सुधारका लागि ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ अवधारणा कार्यान्वयन गरिनेछ। सबै अस्पतालमा ‘नर्सिङ प्रोसेस’ र ‘नर्सिङ केयर प्लान’ अनिवार्य रूपमा लागू गरी त्यसको नियमित अनुगमन गर्ने व्यवस्था पनि गरिनेछ।


    सहमतिमा सहायक नर्स मिडवाइफ (अनमी) हरूलाई पीसीएल नर्सिङ वा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ। त्यस्तै, विशेषज्ञ नर्स (स्पेसालिस्ट नर्स) र एडभान्स प्राक्टिस नर्स (एपीएन) जस्ता नयाँ पद सिर्जनाका लागि एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिने भएको छ।


    यसैगरी, नेपाल नर्सिङ परिषद् ऐनलाई समयानुकूल संशोधन गर्ने, नर्सिङ तथा मिडवाइफ्री सेवाका लागि छुट्टै कानुन तर्जुमा गर्ने प्रक्रियामा नर्स प्रतिनिधिहरूलाई सहभागी गराइने सहमति भएको छ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिममा सहभागी गराउने तथा उनीहरूको सीपको उचित मूल्यांकन गर्ने व्यवस्था पनि सहमतिमा समावेश गरिएको छ।

    सरकार र नर्स अभियन्ताबीच भएको यो सहमतिलाई नर्सिङ क्षेत्रको सुधारतर्फ महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न ७ दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ ।

    कार्यदलले ६ महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । साथै, सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन कानुनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ ।

    नर्सहरूको कार्यभार कम गर्न र सेवाको गुणस्तर सुधार्न ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ को अवधारणालाई कार्यान्वयनमा लैजाने बुँदा सहमति पत्रमा उल्लेख छ । यसका साथै सबै अस्पतालहरूमा ‘नर्सिङ प्रोसेस’ र ‘नर्सिङ केयर प्लान’ अनिवार्य रूपमा लागू गरिने र त्यसको अनुगमन हुनेछ ।

    सहमति पत्रमा सहायक नर्स मिडवाइफ (अनमी) हरूलाई प्रवीणता प्रमाणपत्र (PCL) नर्सिङ वा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ । साथै, विशेषज्ञ नर्स (Specialist Nurse) र एडभान्स प्राक्टिस नर्स ((APN) जस्ता पदहरू सिर्जना गर्न एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिने भएको छ ।

    नेपाल नर्सिङ परिषद् ऐनलाई समयसापेक्ष संशोधन गर्ने र नर्सिङ तथा मिडवाइफ्री सेवाका लागि छुट्टै ऐन तर्जुमा गर्ने प्रक्रियामा नर्स अभियन्ताका प्रतिनिधिहरूलाई पनि सहभागी गराइनेछ । निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्यांकन गर्ने व्यवस्था मिलाइने सहमति पत्रमा उल्लेख छ ।

  • जनसांस्कृतिक महासङ्घद्वारा ६१ प्रगतिशील स्रष्टा सम्मानित

    काठमाडौं। जनसांस्कृतिक महासङ्घ, नेपालले साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, नाटक तथा जनसांस्कृतिक आन्दोलनमा योगदान पुर्‍याएका ६१ जना अग्रज तथा क्रियाशील स्रष्टा र कलाकारलाई सम्मान गरेको छ।

    बुद्धनगरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न विधामा सम्मान प्रदान गरिएको हो। कार्यक्रमको सहआयोजनामा नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, रामेछाप र इन्द्रेणी सांस्कृतिक विकास केन्द्र रहेका थिए।

    कार्यक्रममा जनवादी कला क्षेत्रका जेबी टुहुरे, खुशीराम पाख्रिन र प्रमोद हमाललाई मरणोपरान्त स्रष्टा सम्मान अर्पण गरिएको थियो। सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङलाई प्रगतिशील बलिदान स्रष्टा सम्मान प्रदान गरियो।

    वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान–२०८३ बाट निनु चापागाई, मेघराज शर्मा ‘मञ्जुल’, रामकृष्ण दुवाल, श्याम तमोट र जीवन शर्मा सम्मानित भए।

    यस्तै, गीत, सङ्गीत, नाटक, साहित्य, चलचित्र, नृत्य, ललितकला तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका दर्जनौं स्रष्टा र कलाकारलाई प्रगतिशील स्रष्टा सम्मान–२०८३ तथा जागरण स्रष्टा सम्मान–२०८३ प्रदान गरिएको थियो। सम्मानित हुनेमा अमर गिरी, शम्भु राई, बद्री पंगेनी, पशुपति शर्मा, विष्णु खत्री, प्रकाश सपुत, नवल खड्का, मनोज पण्डित, थानेश्वर गौतम, बीबी अनुरागी, सुरेश अधिकारी, रत्न विक, लोचन भट्टराई, निर्मला घिसिङ, पूजा ठकुरी, ऋषि अधिकारी, विनोद बमलगायत रहेका छन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै जनसांस्कृतिक महासङ्घका केन्द्रीय इन्चार्ज चिरन पुनले प्रगतिशील र व्यवसायिक सांस्कृतिककर्मीबीच सहकार्य तथा सद्भाव आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले सांस्कृतिक आन्दोलनलाई थप सुदृढ बनाउने र प्रगतिशील गीत–सङ्गीतको लोकप्रियता बढाउने धारणा राखे।

    महासङ्घका केन्द्रीय संयोजक भीम कुमाखीले वर्तमान सांस्कृतिक आन्दोलन विगतका आन्दोलन र परिवर्तनको उपलब्धिको निरन्तरता भएको उल्लेख गर्दै स्रष्टाहरूको योगदानको सम्मान गर्नु आवश्यक रहेको बताए।

    कार्यक्रममा जनकलाकारहरूले कालजयी जनवादी गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कवि स्वप्निल स्मृतिले ‘१ मिनेट मौनधारण’ शीर्षकको कविता वाचन गरेका थिए भने सम्मानित स्रष्टाका तर्फबाट वरिष्ठ लेखक निनु चापागाईले आयोजकप्रति धन्यवाद व्यक्त गर्दै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई लक्ष्यमा केन्द्रित राख्न आग्रह गरे।

    कार्यक्रमको अध्यक्षता नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानका संस्थापक रमेशबाबु श्रेष्ठले गरेका थिए भने सञ्चालन कुश्मा महरा ‘प्रगति’, बखतबहादुर हमाल ‘सुवर्ण’ र रमेश श्रेष्ठले गरेका थिए।

  • गुण्डुमा ओली–कार्की छलफल निष्कर्षविहीन, मुख्यमन्त्रीले मानेनन् राजीनामा दिन

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्।

    मंगलबार साँझ गुण्डुमा करिब एक घण्टा भएको छलफलमा अध्यक्ष ओलीले नयाँ राजनीतिक कोर्सका लागि मार्ग खुला गर्न राजीनामा दिन आग्रह गरेका थिए। तर मुख्यमन्त्री कार्कीले आफू धारा १६८ (५) बमोजिम नियुक्त भएको उल्लेख गर्दै राजीनामा दिए संवैधानिक जटिलता सिर्जना हुने र राजनीतिक सन्देश पनि सकारात्मक नजाने तर्क गरेका थिए।

    स्रोतका अनुसार छलफलमा दुवै पक्षले आफ्ना-आफ्नै धारणा राखे पनि कुनै निष्कर्ष निस्कन सकेन। थप छलफल गर्ने सहमति भएको भए पनि त्यसको समय भने तय भएको छैन।

    यसअघि पनि अध्यक्ष ओलीले कार्कीलाई गुण्डु बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए। त्यसपछि पूर्वमुख्यमन्त्री शेरधन राईलाई विराटनगर पठाइए पनि कार्की आफ्नो अडानबाट पछि हटेका छैनन्।

    यसबीच विराटनगरमा एमाले प्रदेश सांसदहरूको हस्ताक्षर संकलन भइरहेको स्रोतको दाबी छ। आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले पार्टीको निर्णय कार्यान्वयनका लागि सांसदहरूसँग हस्ताक्षर गराइरहेको बताइएको छ।

    मुख्यमन्त्री कार्कीलाई हटाउने अभियानमा शेरधन राईसँगै पराजुली सक्रिय रहेको स्रोतको भनाइ छ। यद्यपि कार्कीले आफूले राजीनामा दिए संवैधानिक र राजनीतिक दुवै हिसाबले जटिल अवस्था सिर्जना हुने अडान कायम राखेका छन्।

  • कोशी सरकारको विवाद उत्कर्षमा, ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौं बोलाए

    काठमाडौं। नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्।

    पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव पोखरेलसहित शीर्ष नेताहरूबीच हुने छलफलले कार्कीको नेतृत्व निरन्तर रहने वा नयाँ नेतृत्व चयन हुने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

    एमालेभित्र अध्यक्ष ओली कोशी प्रदेशको नेतृत्व परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पक्षमा रहेको चर्चा छ। तर मुख्यमन्त्री कार्कीले भने राजीनामा नदिने अडान कायम राख्दै आएका छन्। उनले व्यक्तिगत निर्देशनभन्दा पार्टीको संस्थागत निर्णयलाई मात्र स्वीकार गर्ने बताएका छन्।

    सोमबार विराटनगरस्थित एमाले प्रदेश कार्यालयमा आयोजित संसदीय दल र प्रदेश नेतृत्वको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले अध्यक्ष ओलीबाट पद छाड्न कुनै प्रत्यक्ष निर्देशन नपाएको दाबी गरेका थिए।

    उनले आफू संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश सभाको बहुमतको विश्वासका आधारमा मुख्यमन्त्री बनेको उल्लेख गर्दै सरकार संवैधानिक प्रक्रियाअनुसार नै अघि बढ्ने बताएका छन्। काठमाडौंमा हुने शीर्ष तहको छलफलपछि कोशी प्रदेश सरकारको नेतृत्वबारे स्पष्ट निर्णय आउने अपेक्षा गरिएको छ।

  • विवादित लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सुरु

    काठमाडौं। भारत र चीनले विवादित लिपुलेक नाका हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः सुरु गरेका छन्। कोभिड–१९ महामारीपछि २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पुनः सञ्चालनमा आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    लिपुलेक नाकाबाट पहिलो चरणमा १६ भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। चिनियाँ पक्षले प्रारम्भिक चरणमा तक्लाकोट व्यापार केन्द्रको सीमित पूर्वाधारको कारण २० जनालाई मात्रै प्रवेश अनुमति दिएको बताइएको छ। यस व्यापारिक सिजनका लागि हालसम्म ६२ व्यापारी र ९३ सहयोगीसहित १५५ वटा व्यापार पास जारी गरिएको भारतीय अधिकारीहरूले बताएका छन्।

    भारत र चीनले जुन १ देखि व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेका भए पनि पूर्वाधार र प्रशासनिक तयारी पूरा नभएकाले कार्यान्वयन ढिलाइ भएको थियो। यसैबीच हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पनि पहिलो समूहका १६ व्यापारी तिब्बततर्फ प्रस्थान गरेका छन्। शिप्की–ला हुँदै हुने व्यापार नोभेम्बर ३० सम्म परम्परागत वस्तु विनिमय (बार्टर) प्रणालीअन्तर्गत सञ्चालन हुनेछ।

    यद्यपि, लिपुलेक नाका नेपालले आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको क्षेत्र भएकाले व्यापार पुनः सञ्चालनले फेरि कूटनीतिक चासो बढाएको छ। यसअघि भारत र चीनले नेपालको सहभागिता वा सहमतिबिना लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने निर्णय गरेपछि नेपाल सरकारले त्यसप्रति असहमति जनाएको थियो।

    परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित कुनै पनि निर्णय नेपाललाई समावेश नगरी गर्न नहुने स्पष्ट पार्दै आएको छ। नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो अभिन्न भूभाग भएको अडान दोहोर्‍याउँदै आएको छ भने भारतले लिपुलेक उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने आफ्नो भूमि भएको दाबी गर्दै आएको छ।

    सन् २०१५ मा भारत र चीनबीच लिपुलेक हुँदै व्यापार तथा आवागमन विस्तार गर्ने सहमतिपछि नेपालले औपचारिक विरोध जनाएको थियो। त्यसपछि २०२० मा भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि नेपाल–भारत सम्बन्धमा तनाव उत्पन्न भएको थियो। सोही वर्ष नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।

    भारतीय अधिकारीहरूका अनुसार लिपुलेक हुँदै व्यापार सन् १९९२ देखि सञ्चालन हुँदै आएको थियो। महामारीका कारण रोकिएको यो व्यापार पुनः सुरु भएसँगै सीमावर्ती व्यापारिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ। तर विवादित भूभाग हुँदै व्यापार पुनः सञ्चालन भएको विषयमा नेपाल सरकारले हालसम्म औपचारिक नयाँ प्रतिक्रिया सार्वजनिक गरेको छैन।

  • ग्रीसमा डढेलो निभाउन गएका दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुईको मृत्यु


    एथेन्स। ग्रीसको राजधानी एथेन्सको उत्तरपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलो नियन्त्रणका क्रममा परिचालन गरिएका दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।


    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटनामा एउटा हेलिकप्टरमा रहेका एक ग्रीक र एक डेनिस नागरिकको ज्यान गएको हो। अर्को हेलिकप्टरमा रहेका एक ग्रीक र एक बेलायती चालक दलका सदस्य भने सकुशल रहेका छन।


    आइतबार एटिका क्षेत्रको पसाथामा नजिक फैलिएको डढेलोमाथि पानी खन्याइरहेका बेला कम उचाइमा उडिरहेका दुई हेलिकप्टर आपसमा ठोक्किएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुई हेलिकप्टर एकअर्कालाई क्रस गर्ने क्रममा तल उडिरहेको हेलिकप्टरको मुख्य रोटर माथिल्लो हेलिकप्टरको तल्लो भागमा ठोक्किएको देखिन्छ।

    त्यसपछि माथिल्लो हेलिकप्टर आगोको मुस्लोसहित जमिनमा खसेको दृश्य देखिन्छ। अर्को हेलिकप्टरले भने पानी खसाल्दै सुरक्षित रूपमा घटनास्थलबाट उडेको देखिए पनि उक्त भिडियोको आधिकारिक पुष्टि भने रोयटर्सले गरेको छैन।


    ग्रीसको अग्नि नियन्त्रण सेवाले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ। एथेन्सबाट करिब ६० किलोमिटर उत्तरपश्चिममा रहेको पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको डढेलोले हालसम्म १०० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ। शक्तिशाली हावाका कारण आगो पहाड पार गर्दै बस्ती र सैन्य अभ्यास क्षेत्रमा पुगेपछि त्यहाँ रहेका विस्फोट नभएका गोला–बारुदमा समेत आगलागी भएको अधिकारीहरूले बताएका छन्।


    उद्धार टोलीले करिब ३० हजार जनसंख्या रहेको तटीय सहर मेगारातर्फ आगो फैलिन नदिन प्रयास तीव्र बनाएको छ। औद्योगिक क्षेत्रसहित आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आपत्कालीन सूचना जारी गरिएको छ।


    प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले वर्तमान अवस्था अत्यन्त कठिन रहेको बताउँदै प्रकृतिको शक्ति र मौसमको तीव्रताले मानवीय तयारीलाई समेत चुनौती दिएको बताएका छन्। प्रारम्भिक अनुसन्धानले बोयोटिया क्षेत्रमा सुरु भएको आगलागी निजी विद्युत् प्रसारण लाइनमा भएको सर्टका कारण हुन सक्ने देखाएको छ।


    यता, स्पेनमा गत सातादेखि फैलिएको डढेलो अधिकांश क्षेत्रमा नियन्त्रणमा आए पनि केही स्थानमा पुनः आगो बलिरहेको छ। युरोपका विभिन्न देश अहिले डढेलोसँगै खडेरीको संकटसँग पनि जुधिरहेका छन्। राइन र ड्यान्युबजस्ता प्रमुख नदीहरूको जलस्तर ऐतिहासिक रूपमा घट्दा जलयातायात, ऊर्जा उत्पादन, पर्यटन र खानेपानी आपूर्तिमा समेत गम्भीर असर परेको छ।

  • गिनिजको श्रद्धाञ्जली: निम्स पुर्जाले पर्वतारोहणको परिभाषा नै बदलिदिए

    काठमाडौँ। नेपालका विश्वविख्यात पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधनप्रति गिनिज वर्ल्ड रेकर्ड्सले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। गिनिजले विज्ञप्ति जारी गर्दै पुर्जाले मानव क्षमताको सीमालाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरेको हो।

    विश्व पर्वतारोहण क्षेत्रमा असाधारण उपलब्धि हासिल गरेका पुर्जाका नाममा अनेकौँ विश्व कीर्तिमान दर्ता छन्। सन् २०२५ को सेप्टेम्बरसम्मको तथ्याङ्कअनुसार ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको सबैभन्दा धेरै ४९ पटक सफल आरोहण गर्ने कीर्तिमान उनकै नाममा रहेको थियो। यसबाहेक, बिनाअक्सिजन सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने सबैभन्दा पाको व्यक्ति बन्ने दुर्लभ कीर्तिमान पनि उनले कायम गरेका थिए।

    गिनिज वर्ल्ड रेकर्ड्सका एडिटर–इन–चीफ क्रेग ग्लेन्डेले श्रद्धाञ्जली सन्देशमा पुर्जालाई साहस, दृढता र नवीन सोचको प्रतीकका रूपमा स्मरण गरेका छन्।

    ‘निम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएका थिए। उनले पर्वतारोहणको एउटा यस्तो नयाँ शैलीको सुरुवात गरे, जसले स्वयं उनलाई मात्र होइन, सम्पूर्ण आरोहण समुदायलाई नै नयाँ चुनौती र प्रेरणा दियो,’ ग्लेन्डेले भने।

    उनले पुर्जाले शेर्पा गाइड तथा भरियाहरूको योगदानलाई विश्वसामु चिनाउन खेलेको भूमिकाको पनि विशेष प्रशंसा गरेका छन्। ‘शेर्पा गाइड र भरियाहरूको अतुलनीय योगदानलाई अन्तर्राष्ट्रिय समुदायले उचित सम्मान दिलाउन उनले गरेको प्रतिबद्धता र अथक प्रयास सधैँ एउटा जीवन्त विरासतका रूपमा रहनेछ,’ उनले उल्लेख गरेका छन्।

    निर्मल पुर्जा ‘प्रोजेक्ट पोसिबल’ अभियानका कारण विश्वभर चर्चित बनेका थिए। उनले १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू अत्यन्त छोटो समयमा आरोहण गरेर विश्व पर्वतारोहण इतिहासमै नयाँ अध्याय लेखेका थिए। त्यस अभियानले नेपाली पर्वतारोहीको क्षमता, साहस र व्यावसायिक दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको मानिन्छ।

    पुर्जाले आफ्नो साहसिक यात्रामार्फत नेपाललाई विश्व पर्वतारोहणको केन्द्रका रूपमा चिनाउन उल्लेखनीय योगदान दिएका थिए। उनका सफलताले नयाँ पुस्ताका पर्वतारोहीलाई प्रेरणा दिएको मात्र होइन, नेपालको पर्यटन र हिमालसँग जोडिएको पहिचानलाई पनि थप उचाइमा पुर्‍याएको थियो।

    उनको असामयिक निधनसँगै नेपालले एक अद्वितीय पर्वतारोही गुमाएको छ भने विश्व पर्वतारोहण समुदायले साहस, समर्पण र असम्भवलाई सम्भव बनाउने प्रेरणादायी व्यक्तित्व गुमाएको छ। गिनिज वर्ल्ड रेकर्ड्ससहित विश्वभरबाट आइरहेका श्रद्धाञ्जली सन्देशहरूले निर्मल ‘निम्स’ पुर्जाले छाडेको योगदान र विरासतलाई अझ स्पष्ट रूपमा उजागर गरेका छन्।

  • आन्तरिक उडानमा ठूलो परिवर्तनको तयारी, ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने

    काठमाडौं। सरकारले आन्तरिक हवाई यात्रुका अधिकार थप सुरक्षित बनाउन नयाँ कानुन ल्याउने तयारी गरेको छ। संसदमा दर्ता गरिएको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी ऐन, २०८३’ ले उडान ढिलाइ, रद्द, दुर्घटना, ब्यागेज हराउने वा क्षति हुने अवस्थामा वायुसेवा कम्पनीलाई प्रत्यक्ष रूपमा जिम्मेवार बनाउने प्रस्ताव गरेको हो।

    प्रस्तावित व्यवस्थाअनुसार कम्पनीकै कारण उडान प्रभावित भए यात्रुले क्षतिपूर्ति पाउनेछन्। उडान रद्द, स्थगित वा ढिलाइ हुने जानकारी कम्तीमा तीन घण्टा अगावै दिनुपर्ने व्यवस्था गरिएको छ।

    दुर्घटनामा यात्रु वा तेस्रो पक्षको मृत्यु भए हकवालाले एक लाख अमेरिकी डलर बराबर नेपाली रुपैयाँ क्षतिपूर्ति पाउने प्रस्ताव छ। अन्त्येष्टि खर्चका लागि तत्काल पाँच लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि राखिएको छ।

    घाइतेको उपचार खर्च वायुसेवा कम्पनीले नै बेहोर्नुपर्नेछ भने अंगभंग वा गम्भीर शारीरिक क्षति भए अधिकतम एक लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ।

    ब्यागेज हराए वा क्षति पुगे अधिकतम ५०० अमेरिकी डलरसम्म र कार्गो हराए वा समयमै नपुगे पनि कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

    प्रत्येक वायुसेवा कम्पनीका लागि अनिवार्य बीमा व्यवस्था गरिएको छ। बीमा नगर्ने कम्पनीको उडान रोक्न वा एयर अपरेटर सर्टिफिकेट (एओसी) नै रद्द गर्न सकिने प्रस्ताव पनि ऐनमा समावेश छ।

    त्यस्तै, टिकटमा भाडा, सेवा शुल्क र कर छुट्टाछुट्टै उल्लेख गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने कम्पनीलाई १० हजारदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने र दोहोरिएमा जरिवाना दोब्बर हुने व्यवस्था प्रस्ताव गरिएको छ।

    तर खराब मौसम, दैवी प्रकोप, एयर ट्राफिक व्यवस्थापन वा कम्पनीको नियन्त्रण बाहिरका कारण उडान प्रभावित भएको अवस्थामा भने वायुसेवा कम्पनीले क्षतिपूर्ति तिर्नु नपर्ने प्रस्ताव गरिएको छ।

  • ट्रम्पले इरानमाथिको सैन्य हमला रोके, वार्ताको संकेत

    काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरेको घोषणा गरेका छन्। इरान र मध्यपूर्वका केही देशहरूको आग्रह तथा प्रारम्भिक सम्झौतामा सहमति बनेपछि हमला रोकिएको ट्रम्पले बताएका हुन्।

    ट्रम्पका अनुसार सम्भावित सम्झौतामा होर्मुज स्ट्रेट खुला गर्ने र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषय समावेश छन्। साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पनि संयम अपनाउन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सैन्य दबाबकै कारण इरान वार्तामा आउन तयार भएको दाबी गरेका छन्। तर इरानले अमेरिकामाथि सार्वजनिक रूपमा युद्धको धम्की दिने र गोप्य रूपमा वार्ताको प्रयास गर्ने भन्दै ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाएको छ।

    यद्यपि वार्ताको सम्भावना बढे पनि मध्यपूर्वमा तनाव कायमै छ। अमेरिकाले इजरायलमा थप सैन्य रिफ्युलिङ विमान पठाएको छ भने इराक र गाजामा पनि ड्रोन तथा हवाई आक्रमणका घटनाहरू जारी रहेका छन्।

  • फिफाले अर्जेन्टिनाविरुद्ध अनुशासनात्मक कारबाही सुरु गर्‍यो

    काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप २०२६ का क्रममा देखिएको विवादास्पद व्यवहारलाई लिएर अर्जेन्टिनी फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरेको छ। फकल्याण्ड टापु (माल्भिनास) सम्बन्धी राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन तथा विश्वकप फाइनलपछि खेलाडीहरूबीच भएको हातपातका घटनालाई आधार बनाएर फिफाले अनुसन्धान अघि बढाएको हो।

    अर्जेन्टिना विश्वकप फाइनलमा स्पेनसँग १–० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। त्यसअघि सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लियोनेल मेस्सीको टोलीले फाइनल यात्रा तय गरेको थियो। फाइनल समाप्त भएपछि अर्जेन्टिनी खेलाडीहरूले “लास माल्भिनास सोन अर्जेन्टिनास” अर्थात् “फकल्याण्ड टापु अर्जेन्टिनाकै हो” भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।

    फिफाको नियमअनुसार खेल मैदानमा राजनीतिक सन्देश दिन निषेध गरिएको छ। यही कारण फाइनल सकिएलगत्तै फिफाले घटनाबारे अध्ययन सुरु गरेको थियो। दुई सातापछि फिफाले अर्जेन्टिनी फुटबल संघविरुद्ध औपचारिक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको घोषणा गरेको हो।

    फिफाले जारी गरेको विज्ञप्तिअनुसार अर्जेन्टिनी फुटबल संघमाथि फिफा अनुशासन संहिताको धारा १३ (गैर–खेलकुद प्रदर्शनका लागि खेलको प्रयोग), धारा १४ (टोलीको दुर्व्यवहार), धारा १५ (भेदभाव तथा रंगभेद) र धारा १७ (खेलको सुरक्षा तथा व्यवस्था) उल्लंघन गरेको आशंकामा अनुसन्धान भइरहेको छ।

    फिफाका अनुसार कारबाहीको दायरा केवल ब्यानर प्रदर्शनमा सीमित छैन। विश्वकपका विभिन्न खेलहरूमा देखिएका भेदभावपूर्ण नारा, खेल ढिलो सुरु भएको, सुरक्षा प्रोटोकल पालना नगरेको, अनुपयुक्त सन्देश प्रदर्शन गरिएको तथा दर्शकहरूले मैदानमा वस्तु फ्याँकेको घटनालाई पनि अनुसन्धानमा समेटिएको छ।

    फाइनलपछि मेटलाइफ स्टेडियममा भएको झडप पनि अनुसन्धानको मुख्य विषय बनेको छ। भिडियो फुटेजमा अर्जेन्टिनी खेलाडी लियान्द्रो पारेडेसले स्पेनका एरिक गार्सियासँग विवाद गर्दै उनको कठालो समातेको देखिएको छ। त्यस्तै, नाहुएल मोलिनाले स्पेनका स्टार खेलाडी रोड्रीलाई प्रहार गरेको दृश्य पनि सार्वजनिक भएको थियो। घटनामा थियागो अल्माडा र अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयला पनि संलग्न रहेको आरोप छ।

    फिफाले नाहुएल मोलिना, लियान्द्रो पारेडेस र रोबर्टो आयलामाथि हातपातको आरोपमा छुट्टै अनुशासनात्मक प्रक्रिया सुरु गरेको जनाएको छ। साथै मोलिना, थियागो अल्माडा तथा स्पेनका मिडफिल्डर गाभीमाथि खेलभावनाविपरीत व्यवहार गरेको आरोपमा पनि अनुसन्धान भइरहेको छ।

    फिफाले आरोपित सबैलाई आफ्नो पक्ष राख्ने अवसर दिइने र त्यसपछि अनुशासन समितिले अन्तिम निर्णय गर्ने जनाएको छ। दोषी ठहरिएमा खेलाडी वा अधिकारीलाई विश्वव्यापी रूपमा फुटबल गतिविधिबाट निलम्बन, जरिवाना वा अन्य कडा कारबाही हुन सक्नेछ।

    यसअघि पनि फिफाले यस्तै घटनामा कडा कदम चाल्दै आएको छ। महिला विश्वकप फाइनलपछि खेलाडीलाई ओठमा चुम्बन गरेको घटनामा स्पेनिस फुटबल संघका तत्कालीन अध्यक्ष लुइस रुबियल्समाथि प्रतिबन्ध लगाइएको थियो। त्यस्तै, सन् २०१४ को विश्वकपमा इटालीका जियोर्जियो चिलिनीलाई टोकेको आरोपमा उरुग्वेका लुइस सुआरेज चार महिनाका लागि प्रतिबन्धित भएका थिए।

    राजनीतिक सन्देश प्रदर्शनका विषयमा पनि अर्जेन्टिनाको विगत राम्रो छैन। सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै प्रकारको माल्भिनास ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरिएको थियो। यसपटक इंग्ल्यान्डविरुद्धको खेलपछि ब्यानर बोकेका क्रिस्टियन रोमेरो, लिजान्ड्रो मार्टिनेज र जियोभानी लो सेल्सोमाथि पनि थप कारबाही हुन सक्ने अनुमान गरिएको छ।

    फिफाको अन्तिम निर्णय आउन अझ केही समय लाग्ने भए पनि विश्व फुटबलमा खेल र राजनीतिक सन्देशबीचको सीमारेखा तथा खेलभावनाको विषय फेरि एकपटक बहसको केन्द्रमा आएको छ।

Choose Your Language »