
काठमाडौं। नेपाल पत्रकार महासंघले सुनसरीसहित विभिन्न जिल्लामा भएको प्रदर्शन तथा झडपपछि उत्पन्न परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षसँग संयमता अपनाउन अपिल गरेको छ।
कार्यवाहक अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा सुनसरीलगायतका क्षेत्रमा भएका घटनामा तीन जनाको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। महासंघले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
महासंघले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएकाले विविधताबीचको एकता नै देशको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेको छ। पछिल्लो समय सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनापछि तराई क्षेत्रसहित देशका विभिन्न भागमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै जनधनको सुरक्षा र शान्तिपूर्ण वातावरण कायम गर्नु सरकार तथा सबै नागरिकको साझा दायित्व भएको जनाएको छ।
महासंघले सबै पक्षलाई अधिकतम संयमता अपनाउन, अफवाह, घृणा फैलाउने अभिव्यक्ति, उत्तेजक प्रचारप्रसार तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सामग्रीबाट टाढा रहन आग्रह गरेको छ। कुनै पनि असहमति वा मतभेदको समाधान हिंसा, तोडफोड वा द्वेषबाट नभई संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक विधिबाट मात्रै सम्भव हुने महासंघको धारणा छ।
विज्ञप्तिमा वर्तमान परिस्थितिमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अझ जिम्मेवार, तथ्यपरक र संवेदनशील हुनुपर्ने उल्लेख गर्दै पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षित रूपमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न आह्वान गरिएको छ। साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण संरक्षण गर्दै पत्रकारले निर्वाध रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ।
महासंघले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्न संवाद, समन्वय र विश्वास निर्माणका पहल तत्काल प्रभावकारी रूपमा अघि बढाउन पनि महासंघले जोड दिएको छ।
साथै संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्दा मानवअधिकारको सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्तलाई पूर्ण रूपमा अवलम्बन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ।
You must be logged in to post a comment.