
बिहार। जन सुराज पार्टीका संस्थापक तथा चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोरले बिहारको बाँकीपुर विधानसभा उपचुनावमा प्रभावशाली जित हासिल गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको यो सिटमा किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्।
गत जुलाई ३० मा भएको मतदानमा ३५ प्रतिशतभन्दा कम मत खसेको थियो। सबै ३२ चरणको मतगणना सम्पन्न हुँदा प्रशान्त किशोरले ६४ हजार १५१ मत प्राप्त गरे भने नीरज कुमारले ४४ हजार ८२७ मतमा सीमित भए।
जितपछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले सामाजिक सञ्जाल एक्समार्फत प्रशान्त किशोरलाई बधाई दिँदै जनताको निर्णयको सम्मान गर्ने बताएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यो जितका पछाडि पाँच प्रमुख कारण देखिएका छन्। पहिलो, निट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर भएको विद्यार्थी आन्दोलनले बाँकीपुरका मतदातामा सरकारप्रति असन्तुष्टि बढाएको थियो। दिल्लीको प्रदर्शनपछि बिहारमा पनि व्यापक विरोध प्रदर्शन भएको र त्यसको प्रभाव चुनावमा परेको विश्लेषकहरूको भनाइ छ।
दोस्रो, भोजपुरका युवक भरत भूषण तिवारीको कथित प्रहरी इन्काउन्टरपछि मृत्यु भएको घटनाले सरकारविरुद्ध जनआक्रोश बढाएको मानिएको छ।
तेस्रो, उम्मेदवार चयनका क्रममा भाजपाभित्र देखिएको असन्तुष्टि र अन्तिम समयमा उम्मेदवार परिवर्तनले पार्टी संगठनलाई कमजोर बनाएको विश्लेषण गरिएको छ। साथै, गठबन्धन साझेदार जेडीयूको सक्रिय उपस्थिति नदेखिनु पनि भाजपा पक्षमा प्रतिकूल बनेको बताइएको छ।
चौथो, कम मतदानले परम्परागत भाजपा समर्थक मतदातालाई मतदान केन्द्रसम्म ल्याउन नसकेको आकलन गरिएको छ।
पाँचौं, चुनावी अभियानभर प्रशान्त किशोरले आफ्नो आक्रमणको केन्द्र मुख्यमन्त्री सम्राट चौधरीलाई बनाउँदै सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठाए। विश्लेषकहरूका अनुसार यही रणनीतिले शिक्षित र राजनीतिक रूपमा सचेत मतदातालाई प्रभावित गर्यो।
विश्लेषकहरूले यो जितलाई केवल एउटा उपचुनावको सफलता मात्र नभई राष्ट्रिय राजनीतिमा प्रशान्त किशोरको बढ्दो प्रभावको संकेतका रूपमा हेरेका छन्। आगामी राज्य निर्वाचनमा उनको भूमिका अझ महत्वपूर्ण बन्न सक्ने आकलन गरिएको छ भने भाजपाका लागि यो परिणामलाई गम्भीर राजनीतिक चेतावनीका रूपमा हेरिएको छ।
You must be logged in to post a comment.