
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सरकारलाई सम्पूर्ण तयारी केन्द्रित गर्न सुझाव दिएका छन्। कुनै पनि किसिमको दायाँबायाँ नगरी निर्वाचन सफल बनाउनेतर्फ ध्यान दिन उनले आग्रह गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई मुख्य प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएका हुन्। उक्त जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिएका हुन्।
राष्ट्रपति पौडेलले निर्वाचनको सुरक्षालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिँदै नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई अझ तदारुकताका साथ सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएका छन्।
कार्यक्रममा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीले राष्ट्रपति समक्ष परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा देखिएका तथा भविष्यमा सम्भावित सुरक्षा चुनौतीहरूको यथार्थपरक मूल्यांकन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे।
You must be logged in to post a comment.