सूर्य सुवेदी

स्थापना दिवसको दिन आज सधैंभरि देखिने एक पात्र देख्न पाइएन। कृष्ण सेनलाई तत्कालीन सरकारले हत्या गरेकोले उहाँ नेपाली क्रान्तिका महान सहिद हुनुहुन्छ। महेश्वर दाहाललाई बिद्रोह गरि निर्वाचनमा उठेको भनी पार्टीले कार्वाही गरेको छ। संस्थापक अध्यक्ष दाहाललाई आज देख्न पाइएन।


आज प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवस मनाउँदै गर्दा यो केवल एउटा संगठनको वार्षिकोत्सव मात्र होइन, नेपालको वैकल्पिक पत्रकारिता, आन्दोलनमुखी सञ्चार र विचारमा आधारित मिडिया अभ्यासको यात्रालाई सम्झिने दिन पनि हो। यो दिन स्वर्गीय कृष्ण सेन ‘इच्छुक’ को सपना कति पुरा भयो भन्ने प्रश्न उठाउने दिन हो भने, अर्कातर्फ संस्थापक अध्यक्ष महेश्वर दाहाल किन विद्रोहको बाटोमा पुगे भन्ने विषयलाई पनि गम्भीर रूपमा समीक्षा गर्ने अवसर हो।


आन्दोलनको गर्भबाट जन्मिएको संगठन प्रेस सेन्टर नेपालको जन्म सामान्य परिस्थितिमा भएको थिएन। यो संगठन शान्त समयको उत्पादन होइन, संघर्ष, भूमिगत राजनीति र वैचारिक आन्दोलनको माहोल बाट आएको हो। त्यो समय सञ्चारमाध्यमहरूमा सत्ताकेन्द्रित सोच हावी थियो। श्रमिक, किसान, उत्पीडित समुदाय र परिवर्तनका पक्षधरहरूको आवाज मुख्यधारामा कमजोर थियो।


त्यही खाली ठाउँ भर्न, पत्रकारितालाई जनताको पक्षमा उभ्याउन, प्रेस सेन्टरको अवधारणा अघि बढ्यो। यसमा सबैभन्दा बलियो वैचारिक र प्रेरणादायी छाया थियो कवि, पत्रकार र क्रान्तिकारी चेतनाका धनी कृष्ण सेन इच्छुकको। कृष्ण सेन केवल कवि मात्रै थिएनन्, उनी शब्दमार्फत समाज बदल्न खोज्ने अभियन्ता थिए। उनको सपना यसरी बुझ्न सकिन्छ।


पत्रकारिता जनताको पक्षमा होस। सत्ता, सेना वा धनाढ्य वर्गको प्रवक्ता होइन, श्रमजीवी जनताको आवाज बनोस।
पत्रकार डररहित होस। धम्की, दमन, हिरासत र यातनाको सामना गर्दा पनि सत्य लेख्न नछाडाेस। पत्रकारिता विचारहीन नहोस। पत्रकार समाजप्रति उत्तरदायी हाेस। पत्रकारले अन्याय र असमानताको विरुद्ध स्पष्ट अडान राखाेस।

आज २२ वर्षपछि हेर्दा, प्रश्न उठ्छ यो सपना कति पुरा भयो? सपना पुरा भयो कि अधुरै छ?

उत्तर मिश्रित छ। सकारात्मक पक्ष आज प्रेस सेन्टरसँग देशभर सञ्जाल छ। जिल्ला जिल्लामा पत्रकार संगठित छन। राज्य दमनको खुला अवस्था घटेको छ, पत्रकारितामा बहस, आलोचना र प्रश्न गर्ने स्पेस बढेको छ तर प्रश्न साेध्नेहरु दास भएका छन भने प्रश्न सुन्नुपर्नेहरु देवता भएका छन् तर संगठनका संगठक तथा संस्थापक कार्वाहीमा छन्। उहाँ नेतृत्वमा हुँदा प्रेस सेन्टरले धेरै पत्रकारलाई संगठित गर्‍यो, तालिम दियो, पेशागत मुद्दा उठायो।

यतिमात्र हैन पत्रकारहरुकाे साझा संस्था पत्रकार महासंघको मूल नेतृत्वमा दाहाल अध्यक्ष हुँदा पहिलो पल्ट सेन्टरको बिचार बाेक्ने पात्र निर्वाचित भए। यी उपलब्धि साना होइनन। आन्दोलनकालको एउटा सानो वैचारिक समूह आज राष्ट्रिय संरचनामा बदलिनु आफैँमा उपलब्धि हो। यसको श्रेय संस्थापक अध्यक्ष दाहाललाई जान्छ र जानु पर्दछ।


पत्रकारका संगठनहरू दलीय राजनीतिको छायाँ बाट पूर्ण रूपमा मुक्त हुन सकेनन। हुनुपर्ने भन्दा बढी भयो। कतिपय अवस्थामा पत्रकारिता भन्दा राजनीतिक लाइन र गुटबन्दीकाे बचाउ प्राथमिक जस्तो देखिन थाल्यो। श्रमजीवी पत्रकारका तलब, सुरक्षा, सामाजिक सुरक्षा जस्ता आधारभूत मुद्दा अझै समाधानको प्रतीक्षामा छन।


कृष्ण सेनले देखेको पत्रकार भनेको सत्यको पक्षमा उभिने स्वतन्त्र चेतना थियो। तर व्यवहारमा कहिलेकाहीँ पत्रकार संगठनहरू आफैँ शक्ति केन्द्र नजिक पुग्दा आलोचनात्मक भूमिका कमजोर भएको देखिन्छ। यही ठाउँमा सपना अधुरो जस्तो लाग्छ। अझ कृष्ण सेनकाे हत्याका मुख्य आरोपित कपिलवस्तुबाट निर्वाचन लडिरहेको समाचार पढ्दा अहिलेकाे अबस्था छर्लङ्ग हुन्छ ।

महेश्वर दाहालकाे विद्रोह


प्रेस सेन्टरका संस्थापक अध्यक्ष महेश्वर दाहाल अहिले पार्टीबाट बिद्रोह गरि सिन्धुली दुईबाट निर्वाचनमा हाेमिएका छन र उनलाई नेपाली कम्युनिस्ट पार्टीले कार्वाही गरेको छ। विद्रोहलाई केवल व्यक्तिगत असन्तोष भनेर बुझ्नु सतही विश्लेषण हुनेछ। यसलाई संगठनको विकासक्रम भित्रै हेर्नुपर्छ। यस्काे विश्लेषण हुन जरुरी छ। उनी के कारण बिद्रोह गर्न पुगे भनेर मसिनो संग केलाउनु पनि पर्दछ।

कम्तीमा नेतृत्वले गहिरो पहल लिनु आवश्यक देखिन्छ। अहिलेसम्म कुनै पदकाे महत्त्वकांक्षा नराखेका दाहाल किन यसरी बिद्रोह गर्न पुगे भन्ने कुरा खाेजिकााे विषय बनाउनु पर्दछ। महेश्वर दाहाल नेतृत्वबाट बाहिर निस्कनु पहिला प्रेस सेन्टर आन्दोलनमुखी, वैचारिक, त्याग र बलिदानको भावनाले भरिएको थियो। समयसँगै संरचना ठूलो भयो, नेतृत्व तह बलियो भयो तर कतिपयले अनुभव गरे याे संगठनमा विचारको तीखोपन घट्दै गयो।


महेश्वर दाहाल
जस्ता पुराना पुस्ताका लागि यो परिवर्तन असहज हुन सक्छ। उनीहरूले देखेको सेन्टर र पछि बनेको सेन्टरबीच ठूलो अन्तर महसुस भएको हुन सक्छ। धेरै राजनीतिक आश्रित संगठनहरूमा जस्तै, यहाँ पनि कहिलेकाहीँ निर्णय प्रक्रिया, नेतृत्व छनोट, आलोचना सहने संस्कृतिमा कमजोरी देखिएको आरोप लाग्दै आएको छ। यदि संस्थापक नेतृत्वलाई नै आफ्नै संगठनभित्र,पार्टी भित्र आफ्नो कुरा राख्न कठिन भयो भने, विद्रोह जन्मनु अस्वाभाविक हुँदैन।


महेश्वर दाहाल जस्ता व्यक्तिहरूको दृष्टिमा, पत्रकार संगठनको मूल काम पत्रकारको हकहित, पेशागत स्वतन्त्रता, सुरक्षा र श्रमजीवीका सवाल हुनुपर्छ। तर जब संगठन अत्यधिक रूपमा दल केन्द्रित गतिविधितिर झुकेको देखिन्छ, त्यहाँ असन्तोष बढ्छ। त्यसैले उनको विद्रोहलाई संगठनभित्रको आत्मसमीक्षाको संकेत को रूपमा पनि बुझ्न सकिन्छ।
विद्रोह सधैँ फुट मात्र होइन, सन्देश पनि हो।


संगठन ठूलो हुँदै जाँदा जरा नबिर्स। पत्रकारिता सत्ता नजिक पुगेपछि पनि प्रश्न गर्न नछोड। संस्थापक पुस्ताको अनुभवलाई बेवास्ता नगर। यदि प्रेस सेन्टरले यो विद्रोहलाई “शत्रुता” होइन “समीक्षाको अवसर” को रूपमा लियो भने, त्यो कृष्ण सेनको सपनातर्फ फर्किने मौका हुन सक्छ।

बाईस वर्षपछि प्रेस सेन्टरले आफैँलाई सोध्नुपर्ने मुख्य प्रश्नहरू:
के महेश्वरलाई गरिएको कार्वाही ठिक हाे?
के हामी अझै श्रमजीवी पत्रकारकै संगठन हौं?
के हामी आफ्नै नजिकका शक्तिलाई पनि आलोचना गर्न सक्छौं?
के युवा पत्रकारलाई वैचारिक, नैतिक र पेशागत रूपमा तयार पारिरहेका छौं?
यदि यी प्रश्नको इमानदार उत्तर खोजियो भने, कृष्ण सेनको सपना अझै पनि मार्गदर्शक बन्न सक्छ। र जिउँदो सेन महेश्वरहरु पुन:गाेलबद्ध बन्न सक्छन।

र अन्तयमा, प्रेस सेन्टरको २२औँ स्थापना दिवस गर्वको क्षण हो। स्थापना दिवसको दिन मञ्चमा संस्थापक अध्यक्ष नदेखिदा मञ्च खाली खाली देखियो। निक्कै खल्लो महशुस भयो । कृष्ण सेनको सपना पूर्ण रूपमा पुरा भएको छैन, तर हराएको पनि छैन। अझै पनि याे संगठन इतिहास, स्मृति र आदर्शमा बाँचेको छ।

महेश्वर दाहालको विद्रोह व्यक्तिगत घटना मात्र होइन, संगठनले समय समयमा आफैँलाई जाँच्नुपर्ने संकेत हो। यदि प्रेस सेन्टरले आन्दोलनको मूल भावना जनताको पक्षमा निडर पत्रकारितालाई पुनः केन्द्रमा राख्न सक्यो भने आउँदा वर्षहरूमा स्थापना दिवस केवल उत्सव होइन, उपलब्धिको प्रमाण पनि बन्न सक्छ।