काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारीसँगै मन्त्रालयले नयाँ शैक्षिक सत्र समयमै सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्रालयले उक्त निर्णयबारे जानकारी गराउन सबै विद्यालय र स्थानीय तहमा पत्राचार गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको जनाएको छ।

यसअघि एसईई नतिजा प्रकाशन र कक्षा ११ को पढाइ सुरु हुने मितिबारे विद्यार्थी तथा अभिभावकमा अन्योल रहेको थियो। मन्त्रालयले समयमै नतिजा सार्वजनिक गरी पठनपाठन नियमित बनाउन यो निर्णय गरिएको स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु गर्दा विद्यालय शिक्षाको गुणस्तर सुधार हुने, शैक्षिक गतिविधिमा नियमितता आउने र विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।