काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिक माथि मानसिक आतंक सिर्जना गरेको आरोप लगाएको छ।

पार्टीका प्रमुख सचेतक युवराज दुलाल ले प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सरकारको कदमले नागरिकलाई आत्महत्यासम्म गर्न बाध्य बनाएको दाबी गरे।

दुलालले नेपालको संविधानले आवासको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै राज्यनै मानव सिर्जित विपत्ति निम्त्याउने दिशामा अघि बढेको आरोप लगाए।

उनले सुकुम्बासी बस्तीमा सुरक्षाफौज परिचालन गरेर नागरिकलाई त्रसित बनाइएको उल्लेख गर्दै २४ घण्टे अल्टिमेटम दिएर बस्ती हटाउने कार्य अमानवीय भएको बताए।

उनले आत्महत्या गरेका ईन्द्रबहादुर राईको प्रसंग उठाउँदै सरकारमाथि गम्भीर प्रश्न गरे। “मानिस बसिरहेको बस्तीमा राज्यको सम्पूर्ण सुरक्षा संयन्त्र लगाएर आतंक सिर्जना गरिन्छ भने त्यसबाट उत्पन्न घटनाको जिम्मेवारी कसले लिने ?” भन्दै उनले सरकारलाई नैतिक र कानुनी दायित्वबाट उम्किन नमिल्ने बताए।

दुलालले सरकार विधिको शासनको नारासहित सत्तामा आए पनि व्यवहारमा अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप समेत लगाए। संसदलाई प्रभावहीन बनाउँदै कार्यपालिका केन्द्रित शासन प्रणालीतर्फ सरकार उन्मुख भएको उनको भनाइ थियो।

उनले नागरिकको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्ने काम तत्काल रोक्न तथा सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन र मानवीय नीति ल्याउन सरकारसँग माग गरे।