सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारका गतिविधिमाथि गम्भीर प्रश्न उठेको भन्दै अहिलेको अवस्थालाई समर्थन गर्न नसकिने बताएका हुन्।


प्रचण्डले सुकुमबासी समस्या, ट्रेड युनियनका मुद्दा तथा विद्यार्थीसँग सम्बन्धित विषय अझै समाधान नभएको उल्लेख गरे।उनले संविधान संशोधनको बहससमेत पारदर्शी ढङ्गले अघि नबढाइएको आरोप लगाए।

उनका अनुसार सरकारले संसद्‌बाट विधेयक ल्याउन सक्ने अवस्था हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु लोकतान्त्रिक अभ्यासविपरीत कदम हो। दुई–तिहाइ नजिकको शक्ति हुँदाहुँदै सदनलाई छल्ने गरी अध्यादेश ल्याउनु लाजमर्दो कुरा हो उनले भने,यसको प्रतिवाद हामीले गरिरहेका छौँ।

प्रचण्डले को नियतमाथिसमेत प्रश्न उठाउँदै सरकारका पछिल्ला गतिविधिले आशंका पैदा गरेको बताए। सुरुवाती चरणमा केही सकारात्मक अपेक्षा गरिए पनि अहिले सरकारका कामकारबाही समर्थनयोग्य नदेखिएको उनको भनाइ थियो।


उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यक परिमार्जनका लागि सकारात्मक काम भए आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने स्पष्ट पारे। तर जनताको आवाज बेवास्ता गरिए विरोध र प्रतिवादको अवस्था झन् चर्किन सक्ने चेतावनी पनि दिए।


सरकारलाई सदनमै सतर्क हुन सुझाव दिएको छु,उनले भने, यी विषयलाई गम्भीर रूपमा नलिए जनस्तरबाट समेत प्रतिरोध बढ्न सक्छ।