
काठमाडौं। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस प्रक्रियाविरुद्ध परेको रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएपछि निवेदन दर्ता प्रक्रिया अघि बढेको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि वरिष्ठता मिचेर चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरेको भन्दै अधिवक्ताहरूले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो ।
रिट निवेदक अधिवक्ता प्रेम सिलवालले सोमबार बिहान कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर आफ्नो निवेदन इजलाससम्म पुग्न नदिएको गुनासो गरेका थिए । त्यसपछि मल्लले दिउँसो १ बजाभित्र निवेदन दर्ता गर्न प्रशासनलाई निर्देशन दिएको सिलवालले बताएका छन।
सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गरेपछि यसको प्रारम्भिक सुनुवाइ जेठ ५ गते हुने जनाइएको छ ।
प्रधानन्यायाधीश सिफारिसमा स्थापित संवैधानिक अभ्यास, न्यायिक मर्यादा तथा वरिष्ठताको सिद्धान्त उल्लंघन गरिएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेम सिलवाललगायतले रिट दायर गरेका हुन् ।
रिटमा बेंग्लुरू घोषणाको मर्म र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १४ समेत विपरीत कार्य भएको जिकिर गरिएको छ ।
यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले रिट दर्ता नगरी दरपिठ गरेपछि अधिवक्ता सिलवालले त्यसविरुद्ध पुनः निवेदन दिएका थिए । अदालत प्रशासनले दर्ता प्रक्रिया रोकिराखेपछि उनी कामु प्रधानन्यायाधीशको सचिवालय पुगेका थिए ।
न्यायिक परीक्षणको विषय बनेको निवेदनलाई प्रशासनिक तहबाटै रोक्न नमिल्ने भन्दै कामु प्रधानन्यायाधीशको सचिवालयले लिखित रूपमा रिट दर्ता गर्न आदेश दिएको हो ।
















Comments