
विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल (राउन्ड अफ ३२) का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ टोलीको टुङ्गो लागेको छ। शनिबार बिहान सम्पन्न खेलहरूसँगै अब क्वाटरफाइनल प्रवेशका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
राउन्ड अफ ३२ बाट चार पटकको पूर्वविश्वविजेता जर्मनी, गत संस्करणको तेस्रो स्थानमा रहेको क्रोएसिया, नेदरल्यान्ड्स, जापान र सेनेगलजस्ता बलिया टोली बाहिरिएका छन्।
यता साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, स्पेन, इंग्ल्यान्ड, बेल्जियम, ब्राजिल, पोर्चुगल र मोरक्कोलगायत टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। राउन्ड अफ ३२ मा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्दा ब्राजिलले जापानलाई हरायो।
जर्मनी भने पाराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। त् यस्तै मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा स्तब्ध बनायो भने नर्वेले आइभरी कोस्ट, फ्रान्सले स्वीडेन, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल र अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गरे।
स्पेनले अस्ट्रियालाई, पोर्चुगलले क्रोएसियालाई, स्विट्जरल्यान्डले अल्जेरियालाई, इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा, अर्जेन्टिनाले केप भर्डेलाई तथा कोलम्बियाले घानालाई हराउँदै अन्तिम १६ मा स्थान बनाए। अब अन्तिम १६ अन्तर्गत पहिलो खेलमा क्यानडा र मोरक्को आज राति पौने ११ बजे आमनेसामने हुनेछन्। त्यसपछि पाराग्वे र फ्रान्स भोलि बिहान पौने ३ बजे भिड्नेछन्।
सोमबार बिहान पौने २ बजे ब्राजिल र नर्वेबीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुनेछ भने सोही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड आमनेसामने हुनेछन्। मंगलबार बिहान पौने १ बजे पोर्चुगल र स्पेन तथा सोही दिन बिहान अमेरिका र बेल्जियम भिड्नेछन्।
मंगलबार राति पौने १० बजे अर्जेन्टिना र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ भने बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीच क्वाटरफाइनल प्रवेशका लागि निर्णायक खेल हुनेछ।
















Comments